झुम्का कारागारबाट फरार दुई कैदी झापाबाट पक्राउ

झुम्का कारागारबाट फरार दुई कैदी झापाबाट पक्राउ


विराटनगर । सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरु जेन्जी आन्दोलनको फाइदा उठाउँदै फरार भएका दुई कैदीलाई आज बिहान झापाको मेचीनगरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी रहेका छन्। उनीहरू दुवै झापाको मेचीनगर नगरपालिका–६ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारमा उत्पन्न असहज परिस्थितिको मौका छोपेर उनीहरू फरार भएका थिए ।

फरार कैदीहरू आफ्नै गाउँ–घरमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको टोली र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले उनीहरूलाई आज बिहान मेचीनगर–६ स्थित उनीहरूकै घरबाट पक्राउ गरेको हो ।

राजस्व छलीको कसुरमा कैद सजाय भोगिरहेका पोखरेल र ठकुरीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्