विराटनगर । कोशी प्रदेशका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ नस्बु हिवाटोलमा करेन्ट लागेर ५३ वर्षीय अमरबहादुर तामाङको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुधिलोको रुखमा चढेर घाँस काट्दै गरेका उनलाई रुखले केन्द्रीय लाइन छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरी चौकी रगनीबाट हवल्दार शिवकुमार तामाङको टोली पुगेपछि तामाङको शव रुखमै अड्किएको अवस्थामा भेटिएको थियो।
त्यसैगरी संखुवासभा चैनपुर नगरपालिका–९ घोर्लेमा माया खोला हाइड्रोपावरबाट बानेश्वर सब–स्टेसनतर्फ जाने ३३ केभी प्रसारण लाइनमा मर्मतका क्रममा करेन्ट लागेर तीन कर्मचारी घाइते भएका छन् । नेटको तार जोड्ने क्रममा अचानक करेन्ट चलेपछि दुर्घटना भएको हो ।
घाइतेहरूलाई हेल्पिङ हेण्ड्स पोलिक्लिनिक, चैनपुरमा प्रारम्भिक उपचारपछि बिराटनगरस्थित बिराट टीचिङ अस्पताल रेफर ल्याइएको छ । घाइतेमध्ये धर्मदेवीका ४० वर्षीय मुरारी राना मगरको दुबै हातका पञ्जा जलेको छ भने चैनपुर–५ का १८ वर्षीय दातेम्बा शेर्पा र धरान–८ का २६ वर्षीय बिषन श्रेष्ठका हात, खुट्टा र शरीरका विभिन्न भाग जलेका छन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!