काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएको समूहले आज ९बुधबार० काठमाडौंमा विशेष भेला (सभा) को आयोजना गरेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे आयोजना हुने यो भेलाले विशेष महाधिवेशनको मिति तोक्न पार्टीको केन्द्रीय कार्यसमितिलाई दबाब दिने उद्देश्य राखेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि ९बिहीबार० बस्दैछ ।
गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकाबारे विवाद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचन अघि नै नियमित महाधिवेशन, वा सो सम्भव नभए विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । यता सभापति शेरबहादुर देउवा पक्षले भने निर्वाचन अघि महाधिवेशन सम्भव नहुने र निर्वाचनपछि मात्रै गर्नुपर्ने बताउँदै आएको छ ।
यही विवादका बिच कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते नै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गराइसकेका छन् । आजको भेलामा तिनै हस्ताक्षरकर्ता प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा आयोजना गरिने आजको भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने सहभागी नहुने बुझिएको छ ।भेलालाई नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँ लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
दबाब भेलाको तयारीका लागि यसअघि मङ्गलबार काठमाडौं उपत्यकाका नेताहरू, बागमती प्रदेशअन्तर्गतका जिल्ला एवं क्षेत्रीय सभापतिहरू तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिएको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!