धरान । सुनसरीको धरान–१५ साम्पाङ मार्गमा आगलागीमा परेकी अपांगता भएकी छोरीको उद्धार गर्ने प्रयासमा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार विहान नेपाल प्रहरीबाट अवकासप्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागी भएपछि घरको माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठको उद्धार गर्ने प्रयास गर्दा ८७ वर्षीया धनमायाको पनि ज्यान गएको हो ।
आगो लाग्ने बित्तिकै धनमायाले बोल्न नसक्ने आफ्नी छोरीलाई लिन गएको स्थानीयले देखेका थिए । तर, आगो एक्कासी बढेकाले दुबै जनाको निधन भएको हो । घरमा ग्यास चुहिएर आगो लागेको अनुमान गरिएको छ ।
प्रहरीले ग्यास वा विद्युत् सर्ट भएर आगलागी भएको हो भन्ने यकिन भइनसकेको जनाएको छ । हाल अनुसन्धानकै क्रममा रहेकाले अहिले नै भन्न सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
विहान ८ः१५ बजेबाट सुरु भएको आगालागी ९ः४० बजे नियन्त्रणमा आएको थियो । धरान उपमहानगरको दुई वटा दमकल र इटहरी उपमहानगरको दमकल, जनपद, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।