विराटनगर । सुनसरीको धरान १५ मा मा बिहीबार विहान भएको आगलागीमा आमाछोरीको जलेर मृत्यु भएको छ ।
आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागी हुनुको मुख्य कारण अझै खुल्न सकेको छैन । आगलागी हुँदा बोल्न नसक्ने छोरी लिन भित्र जाँदा आमाछोरी दुबै जना आगोमा जलेको स्थानीयले बताएका छन् ।
आगलागीमा एक तला गाह्रो लगाएको र अर्को तला काठले बनेको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी खटिएका थिए ।