विराटनगर । ईलाका प्रहरी कार्यालय रानीले भारतबाट अवैद्य ढङ्गले भन्सार छली ल्याएको साढे ५ लाख मुल्य बराबरको औषधी बरामद गरेको छ ।
प्रहरीले मङ्गलबार दिउँसो ३ बजे विराटनगर–१६ स्थित सिमा तामाङ्गको घरबाट उक्त औषधीहरु बरामद गरेको हो । बिशेष सुराकीको आधारमा प्रहरीले तामाङ्गको घरबाट लुकाईछिपाई राखेको अवस्थामा टाईबेस्ट २० पिस, ब्याकजल्टा ह्युमन एल्बुमिन सोल्युशन २० पिस, ह्युमन रेबिज ईम्युनोग्लोबुलिन बेरिर्याब ६ पिस, भ्यासोप्रेशिन ईन्जेक्शन आई.पि बिप्रेश १०० पिस, ल्याबेटालल ईन्जेक्शन आई.पि १६ प्याकेट र रोनेम १ सय ६५ थान गरि कुल ५ लाख ५० हजार मुल्य बराबरको औषधी बरामद गरेको हो । आवश्यक कारबाहीका लागी उक्त सम्पुर्ण औषधीहरु औषधी व्यवस्था विभाग पठाईएको ईलाका प्रहरी कार्यालय, रानीका प्रहरी निरिक्षक दीपक थापाले बताउनुभयो ।
त्यस्तै १ नं. प्रदेश प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले विराटनगर–१४ स्थित पारिजात चौकबाट भन्सार छली ल्याएको ५ लाख १५ हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । प्रहरीको टोलीले गस्ती गर्ने क्रममा सोमबार राती १० बजेको समयमा को २ ह २२१६ नं. को अटो रिक्शासहित उक्त लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको ७७ थान टप्स, ३६ थान कुर्ता सुरुवाल, ३१ थान बनारसी साडी, १ सय थान सुती साडी, ३१ थान बट्टा साडी र ३४ थान थान कपडा भने आवश्यक कारबाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।