विराटनगर । कोरोना भाइरसको जोखिम कम गर्न भन्दै सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
सरकारले विमानस्थल भने असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेको छ । बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।
नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराइनेछ ।