तनुजाको ‘आत्महत्या’ प्रकरणमा ‘प्रेमी’ पक्राउ

विराटनगर । मोरङको उर्लाबारी घर भई तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा २ वर्षदेखि कार्यरत २४ वर्षीय नर्स तनुजा कार्कीको रहस्यमय मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन् ।

आत्महत्या गरेकी भनिएकी तनुजाको हत्या भएको भन्दै परिवारले जाहेरी दिएपछि प्रहरीले कार्कीकै प्रेमी भनिएका नुवाकोटको तारकेश्वर गाउँपालिका ६ का ३७ वर्षीय खम्बसिङ्ग तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार तामाङ्गलाई जिल्ला अदालत तेह्रथुममा अपहरण, शरीर बन्धक तथा आत्महत्या दुरुत्साहनमा म्याद थप गरि अनुसन्धान भइरहेको छ । कार्कीको तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्क नजिक नरबहादुर खत्रीको सन्तोषी होटलको कोठाभित्र गत १३ जेठमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीका अनुसार जेठ १२ गते इदको विदा भएपछि तनुजा तामाङ्गको मोटसाइकलमा चढेर म्याङलुङ्ग गएको खुलेको छ । भोलिपल्ट बिहान दुवैले एकसाथ खाना खाएको प्रेमिका कार्कीलाई छाडेर बाहिर गएकोमा साँझ ४ बजे फर्केर ढोका खोल्न नक गर्दा नखुलेपछि झ्यालबाट हेर्दा सलको पासो लगाएर झुण्डिएको अवस्थामा देखेको तामाङले बताउँदै आएका छन् ।

पक्राउ परेका तामाङ्ग बिवाहित हुन् भने मृतक कार्की अविवाहित हुन् । तामाङ्ग ठेक्दार हुन् । उनले तनुजा काम गर्ने मेन्छयायेम गाउँपालिकाको स्वास्थ्य चौकीको भवन निर्माण ठेक्का लिएका थिए ।

मृतकका आफन्तले तनुजाका रहस्मय मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । कार्कीको मृत्युमा तामाङको संलग्न रहेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्म कार्वाही गर्नुपर्ने मृतकका दाजु रोविन कार्कीले बताउनुभयो । तामाङले मृतकलाई लामो समयदेखि मानसिक तनाब दिएको परिवारको दावी छ ।

गत माघमा केही दिनको छुट्टीमा उर्लाबारी घर आउँदा काम गर्न धेरै गाह्रो भएको भन्दै कार्की रोएको परिवारले जनाएको छ । लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रो लागेको होला भएर सम्झाईबुझाई पठाएको परिवारको भनाइ छ ।

अप्रत्यासित रूपमा कार्कीले आत्महत्या गरेको खबर आएपछि मृतकका परिवारले अनुसन्धानको लागि तामाङ विरुद्ध जाहेरी दिएका छन् ।

शनिबार, १७ जेठ, २०७७, साँझको ०६:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर