विराटनगर । सरकारले करदाता सेवा केन्द्रहरु खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय व्यवसायीहरुले आज सप्तरीको राजविराज बजार बन्दको आव्हान गरेका छन् । ७२ हजार भन्दा बढी करदाता सेवाग्राही रहेको कार्यालय बन्द गर्दा व्यवसायीहरुलाई मर्का पर्ने भन्दै सप्तरी उद्योग वाणिज्य संघले विरोधमा बन्दको आव्हान गरेको हो ।

कात्तिक १७ गतेको मन्त्री परिषद्को बैठकले करदाता सेवा कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । सरकारले करदाता सेवा कार्यालयले गर्ने काम स्थानीय तहबाटै गर्ने गरी संरचना विकास गर्ने तयारी गरेको बताइएको छ ।

करदाता सेवा कार्यालय सार्ने विरोधमा स्थानीय उद्योगी व्यापारीहरूले बिहीबार साँझ स्थानीय गजेन्द्र चौकमा टायर बालेर प्रदर्शन गरेका थिए । सरकारले तत्काल सार्ने निर्णय तत्काल नसच्याए जिल्ला पूर्ण रूपेन ठप्प पार्ने उद्योग व्यवसायिहरूले चेतावनी समेत दिएका छन् ।

यसअघि बिहीबारै उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद काबराको नेतृत्वमा उद्योगी व्यवसायीले करदाता सेवा कार्यालय राजविराजबाट सार्ने निर्णयविरूद्ध जिल्ला प्रशासन सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

२०७५ सालमा राजविराजमा करदाता सेवा कार्यालय स्थापना भई सञ्चालनमा आएको थियोे ।