विराटनगर । नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यमा आज विधानसभाको पहिलो चरणको निर्वाचन सुरु हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटनालगायतका जिल्लामा निर्वाचन हुँदैछ । पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवलगायतका ‘हेभिवेट’ हरू प्रतिष्पर्धामा छन् ।
यी जिल्लामा हुँदैछ आज निर्वाचन
औरंगाबाद, भोजपुर, बक्सर, गया, जमुई, जहानाबाद, कैमूर, लखीसराय, मुंगेर, नवादा, पटना, रोहतास, शेखपुरा, अर्वल, बाँका, बेगुसराय, भागलपुर र पूर्णिया जिल्लामा पहिलो चरणको निर्वाचन हुन लागेको हो ।
बिहारका बाँकी जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरण (११ नोभेम्बार) मा मतदान हुने छ । निर्वाचन आयोगले १४ नोभेम्बरमा चुनावको नतिजा घोषणा गर्ने योजना बनाएको छ ।

