विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ७८ घरपरिवारले जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) पाएका छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व पाउँदा उनीहरु हर्षित भएका छन् ।

बुधबार नगरपालिकाको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । पहिलो चरणमा नगरपालिकाको वडा नं. ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा प्रदान गरिएको हो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले भूमिहीन परिवारलाई लालपूर्जा हस्तान्तरण गरेका थिए । सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईंले राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा लालपूर्जा वितरण कार्यलाई तीव्रता दिइएको जानकारी दिए । उनले भने, ‘अहिलेको आयोग रहिरह्यो भने चाँडै नै अन्य वडाहरुमा पनि भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिनेछ । उनले कोही पनि भूमिहीन नागरिकलाई नछुटाई लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो नाममा जग्गाधनी प्रमाण पूर्जा पाउँदा स्थानीय बासिन्दाहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले अब आफूहरुले सुरक्षित महसुस गरेको र लालपूर्जाले जीवनस्तर सुधारमा सहयोग पुग्ने आशा व्यक्त गरे ।