विराटनगर । सगरमाथा शिखरको १५ पटक सफल आरोहरण गरेर विश्व रेकर्ड बनाएका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा परी बेपत्ता भएका छन् । उनी दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा हिमपहिरोमा परेका हुन् ।

रोल्वालिङ अन्तरगत उक्त हिमालमा आएको हिमपहिरोमा परेर आठ जना आरोही बेपत्ता भएका छन्, तीमध्ये शेर्पा पनि रहेको प्रहरीले जनाएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ । बेपत्ता भएका फुर्वा दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङ निवासी हुन् ।

फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् । ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइडसहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेको थियो ।

यसैबीच मंगलबार बिहान ४ जना घाइतेको हेलिकप्टरमार्फ़त उद्धार भएको दोलखा प्रहरीले जनाएको छ । चार जना मध्ये २ जना नेपाली र २ जना विदेशी छन् । उद्धार भएका बिरामीको नाम खुलेको छैन ।

प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका ७ विदेशी सहित १४ जनाको समूहमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । बाँकी ४ जनाको हेलिकप्टर मार्फत उद्धार भएको छ ।