विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
आज बिहान ६ बजेको समयमा अनुगमनमा निस्किएको सरसफाइ शाखाका प्रमुख पुनम दाहालको टोलीले घरको फोहोर सडकमा फाल्दै गर्दा विराटनगर ९ स्थित घोघाहा पुल चोकबा केही व्यक्तिलाई रंगेहात पक्राउ गरेका हुन् । त्यसरी समातिएका व्यक्तिहरुको तस्बिर र भिडियो दाहालले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिदिएका छन् ।
विराटनगर महानगरपालिकाले सरसफाइका लागि घरघरबाट फोहोर संकलन गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि एउटा घरबाट उत्सर्जन हुने फोहोर मासिक २२६ रुपैयाँ तिरेर सदस्य बन्न सक्ने व्यवस्था मिलाएको छ । महानगरले सातामा तीन पटक घरघरबाट फोहोर संकलन गर्ने गरेको छ ।
उनले जथाभावी फोहोर नफाल्न र सदस्य बनेर फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् । अन्यथा यसरी नै सार्वजनिक रुपमा तस्बिर र भिडियो सार्वजनिक गरिदिने बताएका छन् ।

