विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशमा सुरक्षाकर्मीका हतियार लुटिने र प्रहरी चौकी जलाइने जस्ता विध्वंसात्मक घटना भइरहेको अवस्थामा भयरहित र शान्तिपूर्ण निर्वाचन सम्भव नभएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले निर्वाचनका लागि दलहरू तयार रहे पनि त्यसका लागि सरकारले पहिला शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीसँगको बैठकमा मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूले निर्वाचनको वातावरण नबनेको धारणा राखेका थिए । मुख्यमन्त्री कार्कीले भने, ‘भदौ २३ र २४ गते जुन घटना भयो, सुरक्षाकर्मीका हतियार र ड्रेस लुटिए, चौकीहरूमा आगजनी गरियो । यस्तो अवस्थामा भयरहित र सुरक्षित चुनाव हुने परिस्थिति छैन । तपाईंले वातावरण बनाउनुस्, अनि मात्रै चुनाव हुन सक्छ ।’
मुख्यमन्त्रीहरूको धारणा सुनेपछि प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । मुख्यमन्त्री कार्कीका अनुसार, प्रधानमन्त्रीले लुटिएका हतियार बरामद गर्ने, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने र निर्वाचनका लागि आवश्यक सबै तयारी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘तपाईंहरूले भनेको कुरा ठीक हो, म सबै परिस्थिति बनाउँछु । दलहरूले चुनावमा आउने स्थिति बनाइदिनुपर्यो,’ मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।
बैठकमा मुख्यमन्त्रीहरूले प्रदेश सरकारको अधिकारमा संघीय सरकारले हस्तक्षेप गर्न खोजेको विषय पनि उठाएका थिए । प्रदेशका कानुनलाई ओभरल्याप गर्ने गरी केन्द्रबाट परिपत्र पठाइएको भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्रीले त्यस्ता अस्पष्टतालाई हटाएर प्रदेश कानुनअनुसार नै काम गर्न दिइने स्पष्ट पारेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
छलफलमा कोशी प्रदेशमा बाढीपहिरो र धानबालीमा भएको क्षतिको राहत तथा पुनर्निर्माणको विषय पनि उठेको थियो । मुख्यमन्त्री कार्कीले राहतको माग गर्दा अर्थमन्त्रीले प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएको बताए ।
प्रधानमन्त्री र मन्त्रीहरूले आफूहरू राजनीतिक नभई केवल निर्वाचन गराउने उद्देश्यले आएको भन्दै दलहरूको सहयोग मागेको पनि मुख्यमन्त्री कार्कीले बताए । उहाँले भन्नुभयो, ‘संविधानले दलको बहुमतबाट सरकार बन्ने व्यवस्था गरेको छ, तर दलहरूलाई नै दुत्कारेर चुनाव हुन सक्दैन भन्ने हाम्रो स्पष्ट धारणा राख्यौं ।’
भदौ २३ र २४ गतेका घटनालाई सरकारले कसरी हेरेको छ भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले २४ गतेको घटना नितान्त आपराधिक र विध्वंसकारी भएको आफूहरूले बताएको र सरकार पनि ती घटनामा संलग्नलाई अपराधीकै रूपमा कानुनको दायरामा ल्याउन सहमत देखिएको बताए । प्रधानमन्त्रीले ‘अपराध गर्ने मान्छेहरू कानुनको दायरामा आउँछन्’ भनी प्रतिबद्धता जनाउनुभएको छ,’ मुख्यमन्त्री कार्कीले भने ।

