काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षलाई व्यक्तिगत रुपमा मात्र पार्टीमा प्रवेश दिने बताएका छन् । ओलीले नेकपा (एकीकृत समाजवादी)का असन्तुष्ट नेताहरुलाई समूहगत वा पार्टीगत रुपमा एकता नगर्ने प्रष्ट पारेका हुन् ।

एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहितका नेता असन्तुष्ट हुँदै अर्को पार्टी गठन गर्ने तयारीमा छन् ।

‘कुनै अमुक समूहसँग एकता हुँदैन। उहाँहरू (एकीकृत समाजवादीका असन्तुष्ट) सँग मैले कुरा गरेको छु। तपाईंहरू आउनुहोस् भनेको छु। व्यक्तिगत रूपमा दस–बीसजना आए पनि व्यक्तिगत नै हुनेछ। अलग्गै समूह बनाएर समूहगत रूपमा एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।

अध्यक्ष ओलीले विगतमा एमाले छाडेर गएकाहरूलाई यसअघि पुरानै घर फर्कन भन्दै आह्वान गरेका थिए।