विराटनगर । विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको हो । घटनामा दुई जना बालबालिकाहरु गम्भीर घाइते भएका छन्।

सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा ठक्कर दिएको थियो । घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।