उद्योगको लाइन काटेका कुलमानले भनेः

सञ्चार माध्यम र सामाजिक सञ्जालले भावनात्मक दबाब बढाए

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरी विद्युत् उपभोग गरेका तर प्रिमियम महसुल नतिर्ने उद्योगीहरूका कारण प्राधिकरणलाई बक्यौता असुलीमा ठूलो चुनौती आइपरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिसिङले विगतमा चार पटकसम्म बक्यौता उठाउने प्रयास गर्दा राजनीतिक तहबाट अवरोध र हस्तक्षेप भएको भन्दै आफ्नो इमानदार प्रयासका बाबजुद पदबाट हटाइएको तीतो यथार्थ पनि सार्वजनिक गरेका छन्।

घिसिङले २०८१ चैत ११ गते विनियमावली अनुसार बक्यौता उठाउन विद्युत नियमन आयोगमा पत्राचार गरेको दिन नै आफूलाई पदबाट हटाइएको स्मरण गर्दै बक्यौता असुलीको प्रयास नै पद गुमाउनुको कारण बनेको बताए। यद्यपि, उनी आज पनि सोही दृढता र निष्ठाका साथ उभिएका छन् ।

बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा सञ्चार माध्यम, सामाजिक सञ्जाल र श्रमिकहरू मार्फत भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइरहेकोमा उनले सचेत र सतर्क रहेको बताएका छन्। उनले प्रश्न गरे, ूयदि बक्यौता नतिर्ने चलन बस्यो भने, भोलि अन्य ग्राहकहरूले पनि तिर्न छोडे भने कसले जिम्मा लिनेरु गलत नजिर बसाल्ने हो भने, भोलि कर नतिर्ने संस्कार पनि फैलिन सक्छ। त्यसपछि राज्य कसरी चल्ने ?

घिसिङले सबै उद्योगी–व्यवसायी मित्रहरूलाई आफ्नो जिम्मेवारी बुझ्न, कानूनको सम्मान गर्न र देशको हितमा इमानदार बन्न आग्रह गर्दै प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन हार्दिक अनुरोध गरेका छन्। कसैलाई अन्याय भएको महसुस भए न्यायिक निकायमार्फत आफ्नो हक खोज्ने अधिकार सबैलाई भएको पनि उनले स्पष्ट पारेका छन्।

उनले आफू आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्ने बताए। यो व्यक्तिगत अहंकारको विषय नभई कानूनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि गरिएको इमानदार प्रयास भएको उनको भनाइ छ।

कार्तिक १५, २०८२, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर