विराटनगर । कोशी प्रदेशसभाका सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली छठी माताको कठोर ब्रत अन्तरगत दण्ड प्रणाम गरी पूजास्थलतर्फ प्रस्थान गरेका छन् । विराटनगर ३ स्थित ठूलो मिल चोकको मन्दिरबाट उनले बिहान १० बजेको साइतमा दण्ड प्रणाम यात्रा आरम्भ गरेका हुन् ।
विगत ३२ वर्षदेखि निरन्तर छठको ब्रत गर्दै आएका उनले २८औं पटक दण्ड प्रणाम यात्रा गरेका हुन् ।
विश्व शान्ति, समृद्धि, अमनचैन र हिन्दु वैदिक सनातन राज्य स्थापना गर्ने उद्देश्य लिएर आफूले हरेक वर्ष छठको ब्रत गरिरहेको उनले बताए । उनले हिन्दु वैदिक सनातनका साथै बौद्ध र किरात धर्म संस्कृतिको सम्बर्धन गर्ने कार्यमा सबै एकजुट हुनुपर्ने उनले बताए ।
ठुलो मिल चोकबाट सुरु भएको दण्डप्रणाम यात्रा करिब ५ घण्टा ३० मिनेटमा पूरा हुने उनले बताए । त्यसपछि उनी साँझ विराटनगर १ परोपकार घाटस्थित सिंघिया नदीमा अस्ताउँदो सूर्यलाई अर्घ समर्पण गरी फर्कने छन् ।




