विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ८ दुर्दिम्बा स्थित भदौरेमा बाबुले भरुवा बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । घटनामा १७ वर्षे सफल लिम्बूको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका बाबु ५२ वर्षे बखत सिंह लिम्बूले ले घरमा राखेको भरुवा बन्दुक प्रहार गरी छोरा सफलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

घर पछाडिको बारीतर्फ करिब १०० मिटर टाढा भरुवा बन्दुकले प्रहार गर्दा दाहिने कुम, कन्चट र छातीमा गोली लागी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सफलको शव पोस्टमार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयले जानकारी दिएका छन् ।

घटनापछि दुर्दिम्बा प्रहरी चौकीबाट गएको प्रहरीले बखत सिंह लिम्बूलाई पक्राउ गरिसकेको जनाएको छ ।