विराटनगर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समानताका लागि सबैलाई हातेमालो गर्न अपिल गरेका छन्।

छठ पर्वको शुभकामना सन्देश जारी गर्दै प्रचण्डले लोक आस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्। उनले मधेश-तराईको मुख्य चाडका रूपमा मनाइने छठ हाम्रो संस्कृति, परम्परा, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताए।

प्रचण्डले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउनुपर्नेमा जोड दिए। उनले आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झनै महत्वपूर्ण हुने उल्लेख गर्दै परिवर्तन पश्चात् शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हाम्रो सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।

सन्देशमा प्रचण्डले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्ने कामना गर्दै देशमा शान्ति, समृद्धि र स्थापित विकासको नयाँ प्रभात उदाओस् भन्ने हार्दिक कामना गरेका छन्।