विराटनगर । सूर्यको उपासना गरेर मनाइने आस्थाको पर्व छठको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै छ । तीन दिन अघिबाट सुरु भएको चाडको उच्चतम रौनक आज साँझ हुनेछ ।
विशेष गरी मिथिला क्षेत्रका प्रमुख पर्वहरूमध्ये छठको विशेष स्थान छ। यस पर्वको तयारी ५ देखि ७ दिनअघि नै सुरु हुने गर्दछ र कार्तिक शुक्ल चतुर्थी तिथिबाट विधिवत् सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुन्छ।
यो पर्वमा मुख्यगरी प्रत्यक्ष देवता सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै विद्यमान छ । छठ पर्वमा गरिब–धनी, ब्राह्मण–दलित, उच्च–निम्न सबै वर्गका मानिसहरू एकैसाथ सहभागी हुन्छन् । सामाजिक विभेद र छुवाछुतजस्ता विकृति हटाउँदै यसले समानता र सद्भावको सन्देश दिने पर्वका रूपमा छुट्टै पहिचान बनाएको छ । छठ पर्व विशुद्ध वैदिक संस्कार हो जसले समाजमा समानता, संयम र आत्मशुद्धिको अभ्यास गराउँछ भन्ने विश्वास छ ।
छठ पर्वको विधि
छठ पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा मुख्य व्रत लिने परम्परा छ । सूर्य देवतालाई पहिलो अर्घ सोही दिन साँझमा अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सँझुका अर्घ’ भनिन्छ । त्यसैगरी, भोलिपल्ट बिहान सूर्योदयको समयमा दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ ।
छठ पूजामा साँझ सूर्यलाई अर्पण गरिएका प्रसादहरू सामान्यतः जलाशयमै राखिन्छन्, तर कतिपय ठाउँमा असुरक्षाका कारण राति घरमा ल्याइ बिहान पुनः घाटमा लगिने गरिन्छ ।

