विराटनगर । शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा चार जना मन्त्रीहरु थपिने भएका छन् । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

नयाँ बन्ने मन्त्रीहरुमा डा.सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् ।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई भूमिसुधार, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ ।

स्वास्थ्य मन्त्री बन्न लागेकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सुधा शर्मा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् । यसअघि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्रालाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । त्यसको लागि मिश्राले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर, उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको सूचना पाएपछि मन्त्री बनाइएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी अर्की पूर्वस्वास्थ्य सचिवलाई दिएकी हुन् ।

भूमिसुधार मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ कार्कीका निकट सहयोगी हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन् ।

श्रम मन्त्रालयको जिम्मा पाउन लागेका दलित अधिकारकर्मी हुन् । दलित अधिकारको पक्षमा पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका उनी विवादित पात्र पनि हुन् । गालीगलौज र दुब्र्यवहार गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

खेलकुदमन्त्री बन्न लागेका गुप्ता सामाजिक कार्यक्रम सक्रिय छन् । उनले कोभिडकालमा निस्शुल्क खाना अभियान चलाएका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।