विराटनगर । तराई मधेशमा उल्लासका साथ मनाइने छठ पर्व आजबाट सुरु भएको छ । कात्तिक शुक्ल चौथीबाट सुरु हुने छठ पर्व सप्तमीका दिन उदाउँदो सूर्यलाई अध्र्य दिएर समापन हुन्छ ।
छठ पर्वको तयारीस्वरूप तराई मधेशका घरघरमा सरसफाइको कामसँगै नदी, तलाउ, पोखरी आदिमा घाटहरुको सरसफाइ र सजावटको काम पनि सुरु भइसकेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको हरेक दिनको फरक महत्व र विधि रहेको छ। आज पहिलो दिन नहाय खाय मनाइदै छ । यस दिन ब्रतालुहरू बिहानै उठेर नजिकको पवित्र नदी वा तलाउमा स्नान गर्छन्। नुहाएपछि चोखो वस्त्र धारण गरी शुद्ध भोजन गर्छन्। विशेषतः यस दिन अरुवा चामलको भात, दाल र फर्सीको तरकारी (लौका) खाने चलन छ। यो दिनदेखि ब्रतालुहरूले माछा, मासु, प्याज, लसुन लगायतका तामसी भोजन त्याग्नेुपर्छ ।
कात्तिक शुक्ल पञ्चमी अर्थात छठको दोस्रो दिन खरना मनाउने प्रचलन छ । यस दिन ब्रतालुहरू दिनभरि निराहार व्रत बस्छन्। साँझपख नुहाइधुवाइ गरी चोखो भान्सामा गाईको गोबरले लिपेर शुद्धीकरण गरिन्छ। त्यसपछि माटोको नयाँ चुलोमा आँपको दाउरा बालेर खीर पकाउने चलन छ। यो खीर र रोटी चढाएर छठी माताको सामान्य पूजा गरिन्छ। त्यसपछि ब्रतालुहरूले यो प्रसाद ग्रहण गर्छन् र यस दिनदेखि कठोर निराहार व्रतको सुरुवात हुन्छ, जुन पारण नगरेसम्म जारी रहन्छ।

