विराटनगर । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रक भीरबाट खसेर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । धनकुटा नगरपालिका– ९ पाँचगोलाइ भन्ने ठाउँमा सोमबार बिहान २ बजे मुलघाटतर्फ आउँदै गरेको प्र.३–०१–००३क ६९०६ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–५ का २६ वर्षे नारायण खड्का र सहचालक उदयपुरकै २० वर्षे दिनेश कार्की गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट र प्रहरी चौकी मुलघाटबाटले उद्धार गरी उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाएको जनाएको छ ।