विराटनगर । गत साताको अविरल वर्षा र त्यसपछिको बाढीका कारण विस्थापित भएकामध्ये विराटनगरका ३७ परिवार अझै आफ्नो घर फर्कन सकेका छैनन् । घर डुबानमा पर्नुका साथै पानीको सतह नघटेकाले उनीहरू सुरक्षित स्थानमा नै बसिरहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको विवरण अनुसार, विराटनगर महानगरपालिका–१२ बरखरीका १५ घरपरिवार र वडा नं १६ ढेरा बस्तीका २२ घरपरिवार गरी जम्मा ३७ परिवार अझै विस्थापित अवस्थामै छन् । उनीहरू हाल आफन्त तथा नजिकैको सुरक्षित आश्रय स्थलमा बसिरहेका छन् ।
गत शनिबारको बाढी, डुबान र कटानका कारण मोरङ जिल्लाभर ४९० घरपरिवारका कूल १ हजार ७८९ व्यक्ति प्रभावित भएका थिए । विराटनगर महानगरपालिकाका विभिन्न वडा तथा रतुवामाई, सुनबर्षी, उर्लाबारी नगरपालिका र कटहरी, मिक्लाजुङ, कानेपोखरी गाउँपालिकामा बाढीले ठूलो क्षति पुर्याएको थियो ।
विस्थापित भएकाहरूलाई तत्कालका लागि सुरक्षित स्थानहरू जस्तै आफन्तको घर, स्थानीय विद्यालय, कलेज, र विभिन्न संघसंस्थाका भवनमा सारिएको थियो । प्रहरी, स्थानीय तह र मारवाडी सेवा समाज, जीवन विकास संस्था, लायन्स क्लब जस्ता सामाजिक संस्थाहरूले उद्धार तथा राहत कार्यमा सक्रियता देखाउँदै पीडितहरूलाई चाउचाउ, चिउरा, भुजा र पानी जस्ता सामग्री वितरण गरेका थिए ।
अधिकांश परिवार घर फर्किसकेको भए तापनि बाढीको यो विपत्तिले एक मानवीय क्षतिसमेत गरेको छ । विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी ३५ वर्षीया अनिता राउतको पानीको भेलले बगाउँदा डुबेर मृत्यु भएको थियो । यसका साथै, रतुवामाईमा खोलाको बाँध कटान हुँदा करिब ५ बिघा खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ ।

