विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले अविरल वर्षाका कारण प्रदेशभरि भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पीडितहरूलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकारसँग जोडदार माग गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले विपद्को घडीमा प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएको र ‘सुतेर बसेको’ आरोप खेपिरहेको’ भन्दै कडा आलोचना गरेको छ । “यस दुःखद घडीमा हाम्रो पार्टी, घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित मृतकप्रति हार्दिक श्रद्धाञ्जली र मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

गत शनिबार वर्षा, बाढी, पहिरो तथा डुबानका कारण कोशी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म कोशी प्रदेशमा ४५ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी इलाममा ३७ जना रहेका छन् । विज्ञप्तिमा इलाममा ३८ सहित प्रदेशभर ४५ जनाभन्दा बढी नागरिकको ज्यान गएको, दर्जनौं घाइते र हजारौं विस्थापित भएको उल्लेख छ ।

माओवादी केन्द्रले प्रभावित क्षेत्रहरूमा तत्काल त्रिपाल, कम्बल, खानेकुरा, औषधि लगायतका अत्यावश्यक राहत सामग्रीहरू युद्धस्तरमा पुर्याउन र मंगलबारदेखि नै हेलिकप्टरमार्फत इलाम लगायतका क्षेत्रमा राहत पुर्याउने भनिएको कार्यलाई प्रभावकारी बनाउन माग गरेको हो । घाइतेहरूको निःशुल्क तथा उचित उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति र सहयोगको घोषणा गर्न पनि पार्टीले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “बाढी, पहिरो र डुबानका कारण भएको मानवीय तथा भौतिक क्षतिको यकिन गरी पीडितहरुलाई उचित क्षतिपूर्ति र विस्थापितहरुको सुरक्षित स्थानमा दीर्घकालीन पुनस्र्थापनाको व्यवस्थापनमा ठोस कदम चालियोस् ।” भविष्यमा यस्ता घटनाहरूबाट हुने क्षतिलाई न्यूनीकरण गर्न दीर्घकालीन योजना बनाउन र विपद् व्यवस्थापनका लागि थप सक्रिय र जनउत्तरदायी संयन्त्र स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

अन्तमा, माओवादी केन्द्रले सरकारलाई “जनउत्तरदायी भई तत्काल उद्धार, राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन” आह्वान गरेको छ ।