विराटनगर । तीन दिनदेखिको अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । बाढी र पहिरोका कारण प्रदेशका पाँच जिल्लाका आठ मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । जसले गर्दा यातायात र उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहे पनि पहिरो खस्ने क्रम नरोकिँदा समस्या भइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक दाहालका अनुसार, प्रदेशका इलाम, भोजपुर, संखुवासभा, धनकुटा र खोटाङ जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो ।

सबैभन्दा बढी भोजपुरमा मध्यपहाडी लोकमार्गका तीन ठाउँमा पहिरोले सडक बगाएको छ । त्यसैगरी इलामको मेची राजमार्ग १ स्थान, संखुवासभा कोशी राजमार्ग २ स्थान, धनकुटा तमोर करिडोर १ स्थान, खोटाङ दिक्तेल गाईघाट सडक खण्ड १ स्थानमा अवरुद्ध भएको छ । एसएसपी दाहालले भने, ‘अवरुद्ध सडक हटाउने प्रयास निरन्तर जारी रहेको छ । यातायातलाई सहज बनाउन प्रहरी टोली सक्रिय रूपमा खटिएको छ ।’

असोज १८ देखि आज बिहान १० बजेसम्मको तथ्यांकअनुसार विपदका घटनामा परी प्रदेशभर ४६ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी इलाममा ३८ जनाको मृत्यु भएको छ । त्यसैगरी, पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपदमा परी ३ जना बेपत्ता भएका छन्, जसमध्ये इलामका १ जना रहेका छन् । प्रहरीले हालसम्म २,१०५ जनाको सफलतापूर्वक उद्धार गरेको छ । बाढी र पहिरोका कारण ६,४४८ घरपरिवार विस्थापित भएका छन् भने २९,३९२ जना प्रभावित भएका छन् ।