विराटनगर । गत शनिबारदेखिको अविरल वर्षासँगै कोशी प्रदेशमा बाढी पहिरोमा फसेका ५५५ जनाको उद्धार गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहानसम्म ५५५ जनालाई उद्धार गरिएको छ । पहिरोमा फसेका २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
झापाको झापा गाउँपालिका र गौरिगञ्ज गाउँपालिकामा फसेका १६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। त्यसैगरी इलामको माङसेबुङ गाउँपालिका–१ मा पहिरोमा परेर घाइते भएका ३ जनालाई उद्धार गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा रहेका ४ जना घाइतेलाई उद्धार गरी सोमबार बिहान झापाको बिएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रदेश प्रहरीका अनुसार उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय स्वयंसेवक सक्रिय छन्।