कोशी प्रदेश सरकारलाई होसमा फर्कन माओवादी नेता आङ्बोको आग्रह

विराटनगर । विनाशकारी बाढी पहिरोले कोशी प्रदेशमा ४५ जनाको ज्यान लिइसकेको छ भने अझै पनि प्रदेशभरि विपद्को जोखिम टरेको छैन। यस्तो संवेदनशील र विपदको घडीमा पनि सक्रिय नबनेको भन्दै नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारको कडा आलोचना गरेका छन् ।


सरकार ‘मुर्छित अवस्थामा’ रहेको भन्दै उनले सरकारलाई तत्काल होसमा फर्कन आग्रह गरेका हुन् । प्रदेश सरकारका लागि यो आफ्नो औचित्य र क्षमता पुष्टि गर्ने महत्वपूर्ण बेला भएको भन्दै उनले तत्काल उद्धार, राहत र उपचारका लागि जनप्रतिनिधिहरु, संघ र स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिएका छन्।

आङ्बो भन्छन्, ‘संघीय सरकारसँग नागरिकको सीधा पहुँच जनप्रतिनिधि विहीनताका कारण असम्भव भएको छ। यस्तै, प्रशासन र कर्मचारीतन्त्रले पनि सीमित स्रोतसाधन र क्षेत्राधिकारका कारण ठूलो जोखिम मोलेर पूर्ण रूपमा उद्धार, राहत र पुनर्निर्माणको काम गर्न सक्षम छैनन्। यो अवस्थामा, प्रदेश सरकारले संघीय सरकारका निकायहरू, स्थानीय तह र जनप्रतिनिधिहरूसँग सशक्त र उचित समन्वय गरी आफ्ना सबै संयन्त्र र उपलब्ध स्रोतहरूलाई अधिकतम परिचालन गर्नुपर्ने आवश्यकता छ। जनताले सरकार नजिकै छ भन्ने अनुभूति गर्न पाउनु पर्छ।’

गएको महिना जेएन जे आन्दोलनका क्रममा प्रदेश सरकारका सबै मन्त्रालयहरूमा भएको आगजनीका कारण सरकार पूर्ण रूपमा स्थिर हुन र आफ्ना कार्यहरूलाई सहज रूपमा अगाडि बढाउन नसकेको कटु यथार्थ छ। तर, यही चुनौतीका बावजुद पनि प्रदेश सरकारले जनतालाई ‘नजिकको सरकारको प्रत्याभूति’ गराउनु पर्ने आङ्बोको स्पष्ट भनाइ छ। उद्धार, राहत वितरण, प्रभावकारी सेवा प्रवाह र पुनर्निर्माणका कार्यहरू मार्फत प्रदेश सरकारले आफ्नो सक्षमता देखाउनु पर्ने र जनताको दुःखमा साथमा रहेको अनुभूति दिलाउनु पर्ने बेला आएको उनको भनाइछ।

‘यो आपतकालीन अवस्थामा प्रदेश सरकारको सक्रियता र संवेदनशीलता नै यसको औचित्य प्रमाणित गर्ने कडी हो। अहिलेको संकटको सामना गर्न सबै मिलेर काम गर्नु पर्नेमा आङ्बोले जोड दिएका हुन्, र यसको नेतृत्व प्रदेश सरकारले लिनुपर्नेमा उनको जोड रहेको छ ।

अशोज २०, २०८२, बिहानको ०९:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर