झापा । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर खण्डमा सडक अवरुद्ध भएपछि सवारी साधनहरू वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । झापा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, असोज १९ गते राति परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा सडकमा क्षति पुगेको हो।
मेचीनगर नगरपालिका वडा नं. ६, एसियन हाइवेस्थित कालिखोलामा रहेको कल्भर्टको ह्युम पाइपमाथि सडकसम्म बाढी पसेका कारण बाटो बन्द भएको छ । यस रुटबाट सञ्चालन हुने सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ । अब सवारी साधनहरू मेचीनगर नगरपालिका वडा नं. ७, इट्टाभट्टा, भृकुटी हुँदै वडा नं. ५ को नकलबन्दा तथा इट्टाभट्टा हुँदै सोही वडाको ७ नम्बर वडामा पर्ने ज्यामिरगढीको रुटबाट गरिएको छ ।
त्यसैगरी, शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित सुकुना खोलामा एसियन हाइवे मर्मतका लागि राखिएको ह्युम पाइपलाई खोलामा आएको पानीले कटान गरी बाटो बन्द गरेको छ । यस रुटमा चल्ने सवारी साधनहरूलाई शिवसताक्षी नगरपालिका वडा नं. ९ हुँदै वडा नं.१० माइधार निस्किने गरी वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण झापावासीहरूलाई यो जानकारी गराउँदै वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।