विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको विराटनगर महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरूको पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाउने भएको छ । हिजो आइतबार बसेको कार्यपालिका बैठकले जनताले सेवा प्राप्त गर्नुपर्ने अधिकारलाई ध्यान दिँदै पुनर्निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।

यो आगजनीपछि बसेको पहिलो कार्यपालिका बैठक हो । आगजनी भएको २० दिनसम्म उपप्रमुख शिल्पा निराला कार्कीले कमान्ड सम्हालेकी थिइन् । प्रमुख नागेश कोइराला आगजनीपछि भ्रमण छोट्याएर फर्किने अपेक्षा नगरवासीले गरेपनि उनी लामो समयसम्म विदेश भ्रमणमा रहेका थिए । उनी आएपछि पहिलो पटक कार्यपालिका बैठक टेन्टमुनि बसेको हो ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहित कार्यपालिका सदस्यहरूको उपस्थिति थियो । बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरूको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा मेयर कोइरालाले हतोत्साहित नभई भएका स्रोतसाधनबाट जनताका सेवामा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए । कोइरालाले जनताको महानगरवासीको सेवाका लागि संस्थागत र व्यक्तिगत सहयोग गर्न आफू सधैं तत्पर रहेको प्रतिबद्धतासमेत जनाए ।