‘जेनजी आन्दोलन दलहरूभित्रको उकुसमुकुसको पनि विस्फोट हो, नेतृत्व फेरेर मात्र पार्टी सुध्रिँदैन’
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको आन्दोलनले देशको राजनीतिलाई उथलपुथल गरिदियो । शान्तिपूर्ण प्रदर्शन हिंसामा परिणत हुँदा ७४ जना युवाले ज्यान गुमाए भने त्यसपछिको अराजक स्थितिमा देशभर धेरै भौतिक संरचनामा आगजनी भयो । यही आन्दोलनको बलमा संसद विघटन भयो र नागरिक अगुवाहरूको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो अभूतपूर्व राजनीतिक उथलपुथलको कारण के थियो ? अबको बाटो के हो ? राजनीतिक दलहरूले आफूलाई कसरी सुधार गर्नुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईसँग गरिएको विस्तृत कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गयो, सार्वजनिक र निजी सम्पत्तिमा आगजनी भयो । नेताहरू असुरक्षित भए । त्यो दुई दिनको असहज परिस्थितिमा तपाईं चाहिँ कहाँ हुनुहुन्थ्यो ?

– २३ गते आन्दोलन हुँदै गर्दा म विराटनगरमै थिएँ । २४ गते चाहिँ म बिहान करिब ११ बजेतिर आफ्नो गृह जिल्ला (खोटाङ) तिर लागेको थिएँ । घरमा पितृपूजाको कार्यक्रम थियो । त्यतिबेलासम्म आन्दोलनले यति ठूलो उत्कर्ष लिइसकेको अवस्था थिएन । मैले सामान्य ढंगबाटै यात्रा सुरु गरेको थिएँ । बीच बाटोमा पुगिसकेपछि आन्दोलनले उग्र रूप लियो भन्ने कुरा मिडियामार्फत सुनेँ । हामी गाउँ जाने बाटोमा नेटवर्क पनि राम्रो चलिरहेको थिएन । त्यो परिस्थितिमा म गाउँ जाँदै गरेको अवस्था थियो ।

तपाईंले जनतामा यस्तो खालको आक्रोश र उकुसमुकुस छ भन्ने कुराको पूर्वानुमान गर्नुभएको थियो ?

– जनतामा आक्रोश छ, उकुसमुकुस छ भन्ने कुरा हामीले नबुझ्ने कुरा भएन । त्यही भएर पनि आफूले पाएको जिम्मेवारी निर्वाह गर्दा त्यो उकुसमुकुसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर नै काम गरिरहेका थियौं । तर, यो रूपमा र यति चाँडो आन्दोलनले यस्तो स्वरूप लिन्छ भन्ने अनुमानचाहिँ गरिएको थिएन ।

यो उकुसमुकुसको खास कारण के हो जस्तो लाग्छ ?

– यसमा अरू कसैलाई दोष दिनु पर्दैन । यो उकुसमुकुसको परिस्थितिको सिर्जना हामी राजनीतिक दल र नेतृत्वले नै गरेको हो । हामी जजसले राज्य सञ्चालन ग¥यौं, जो जो नेतृत्वमा पुग्यौं, यो त्यसैमार्फत भएको उकुसमुकुस हो । नेपालमा केही पनि भएको छैन भन्ने भाष्य नागरिकले बनाएका होइनन्, हामीले नै बनाएको हो । हामी जब सत्तामा हुन्छौं, एउटा कुरा गर्छौं, अनि सत्ताभन्दा बाहिर जाँदा अर्को कुरा गर्छौं । सत्तामा हुँदा सुशासनको कुरा ग¥यौं तर कायम गर्न सकेनौं । सत्ता बाहिर निस्किँदा देशमा बिग्रेको मात्र देख्यौं, सपारेको कुरा केही पनि देखेनौं । हामीले एकले अर्काको खुट्टा तान्ने र जनतामा भ्रम सिर्जना गर्ने काम ग¥यौं । पछिल्लो १० वर्षमा देशमा आकाश–पातालको फरक छ, धेरै विकास भएको छ । तर हामीले त्यसको कहिल्यै व्याख्या गरेनौं । भ्रष्टाचार भएको छ, तर अहिले भनेजस्तो मात्रै छैन । सुशासन कायम गर्न नसकेको सत्य हो । तर यो परिस्थिति निर्माण गरेको हामीले नै हो ।

दुई दिनको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिलाई कसरी हेर्नुहुन्छ ? र त्यसपछि विघटन भएको संसद र बनेको नयाँ सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?

– जेनजीहरूले गरेको आन्दोलनको उद्देश्य पवित्र थियो । उहाँहरू देशमा परिवर्तन, भ्रष्टाचारको निर्मूल र सुशासनका लागि आउनुभएको थियो । तर त्यो आन्दोलनमा दुर्भाग्यपूर्ण तरिकाले गोली चल्यो र निहत्था नागरिकको ज्यान गयो । त्यसपछिको आक्रोश स्वाभाविक थियो, तर त्यो आक्रोशभित्र अरूले खेल्ने काम गरे । भौतिक संरचना र सवारी साधन जलाउने काम जेनजीहरूको उद्देश्य थिएन भन्ने मलाई लाग्छ । जहाँसम्म नयाँ सरकारको कुरा छ, यो ६ महिनाभित्र निर्वाचन गर्नका लागि बनेको अन्तरिम सरकार हो । तर मन्त्रिमण्डल निर्माण र सरकारका कामकारबाही हेर्दा यो लामो समयसम्म शासन गर्ने उद्देश्यले बनेको जस्तो देखिन्छ । यसले निर्वाचन नगर्ने उद्देश्य राखेको हो कि भन्ने आशंका छ । यदि ६ महिनामा निर्वाचन भएन भने नेपालको परिस्थिति फेरि अर्को भयावह स्थितिमा जान सक्छ ।

संसद विघटनलाई चाहिँ कसरी लिनुभएको छ ?

– संसद विघटन नभइदिएको भए राम्रो हुन्थ्यो । सबै कुरालाई वैधानिक तरिकाले लगेको भए हुन्थ्यो । सरकार विघटन वैधानिक नभइसकेपछि नयाँ सरकार निर्माण पनि वैधानिक छैन । संसदलाई जीवितै राखेर संविधानमा संक्रमणकालीन व्यवस्था उल्लेख गरी दुईतिहाइले पास गरेर नयाँ प्रधानमन्त्री नियुक्त गर्न सकिन्थ्यो । आन्दोलनले संविधान मान्दैन भन्ने तर अहिले आन्दोलनकारीलाई पक्राउ गर्ने काम पनि भइरहेको छ । त्यसैले ऐन–कानुनलाई निस्तेज नगरी काम गरेको भए राम्रो हुन्थ्यो ।

आन्दोलनको तारो मुख्य तीन दलका शीर्ष तीन नेता देखिनुभयो । समस्या उहाँहरूमा मात्र हो कि समग्र पार्टी प्रणालीमा ?

– जेनजी आन्दोलनपश्चात् नेतृत्वमाथि प्रश्न उठेको छ, त्यो स्वाभाविक हो । तर हामीले के बुझ्नुपर्छ भने यही नेतृत्वले लामो राजनीतिक जीवन र संघर्षबाट देशलाई यहाँसम्म ल्याइपु¥याएको हो । यो उकुसमुकुस बाहिर मात्र होइन, पार्टीहरूभित्र पनि थियो, जुन अहिले प्रस्फुटन भएको मात्र हो । लामो समय एउटै व्यक्तिले नेतृत्व गर्दा अर्को पुस्ता आउन नसक्ने परिस्थिति थियो । अहिले त्यही आवाज उठेको हो ।

तपाई नेपाली कांग्रेस कोशीको महामन्त्री पनि हुनुहुन्छ । युवा पनि हुनुहुन्छ । कांग्रेसभित्रको व्यवस्थापन अब कसरी हुन्छ ? महामन्त्रीहरूले विशेष महाधिवेशनको माग गर्नुभएको छ, तर केही नेताहरू विपक्षमा हुनुहुन्छ नि ?

– नेपाली कांग्रेस यो देशको जिम्मेवार र ऐतिहासिक पार्टी हो । यो आफैँ सम्हालिनुपर्छ । आफू नसम्हालिने हो भने देश सम्हाल्न सकिँदैन । जहाँसम्म महाधिवेशनको कुरा छ, हाम्रो नियमित महाधिवेशन आगामी मंसिरमा समय सकिँदैछ । केन्द्रीय समितिले विधानअनुसार एक वर्षभन्दा बढी म्याद थप्न मिल्दैन । त्यसैले विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशनमा जाँदा राम्रो हुन्छ । नियमित महाधिवेशनले तल्लो तहबाटै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्दै पार्टीलाई पुनर्संरचना गर्छ । माथिल्लो तहको एउटा व्यक्ति वा नेतृत्व मात्रै परिवर्तन हुँदैमा पार्टी परिवर्तन हुँदैन । पार्टीको पुनर्संरचना तलबाटै हुनुपर्छ

अहिलेको परिस्थितिमा जेनजी पुस्ता वा नयाँ युवाहरू कांग्रेसजस्तो पुरानो पार्टीमा आउन तयार छन् त ?

– किन नहुने ? अहिले यो आन्दोलनकै बीचमा पनि हाम्रो क्रियाशील सदस्यता नवीकरण धमाधम भइरहेको छ । नयाँ क्रियाशील माग्नेहरूको पनि त्यति नै चाप छ । जेनजी पुस्ताले पनि के बुझ्नुपर्छ भने स्थापित पार्टीहरू (काँग्रेस, एमाले, माओवादी) नै हुन् । यिनीहरूलाई विस्थापित गर्न सहज छैन । त्यसैले यही पार्टीहरूभित्र प्रवेश गरेर, यसलाई पुनर्गठित र पुनर्संरचना गर्दै नयाँ विचारसहितको पार्टी बनाउनुपर्छ । बाहिर बसेर मात्र हुँदैन ।

जेनजी आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश संरचना खारेजीको मुद्दा पनि उठायो । यसमा तपाईंको धारणा के छ ?

–जेनजी आन्दोलन अन्तिममा आएर मोहराको रूपमा मात्र देखियो । अहिलेको मन्त्रिपरिषदमा एकजना पनि जेनजी पर्नुभएको छैन, यो सत्य हो । जहाँसम्म मागको कुरा छ, प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको कुरा अहिले सम्भव छैन । अहिलेको निर्वाचन प्रतिनिधि सभाको लागि हो । प्रदेश संरचनामाथि प्रश्न उठ्नुको कारण प्रदेश आफैँ होइन, हामी राजनीतिक दलहरू हौं । संविधानले दिएको अधिकार हामीले प्रदेशलाई हस्तान्तरण गरेनौं । प्रहरी समायोजन भएन, आवश्यक ऐन–कानुन बनेनन् । प्रदेशलाई गाली खाने ठाउँ मात्र बनाइयो । यो हाम्रो कमजोरी हो । प्रदेश संरचना खारेज हुने परिस्थितिमा छैन ।

केन्द्रमा गठबन्धन भत्किए पनि कोशी प्रदेशमा कांग्रेस–एमालेकै गठबन्धन सरकार छ । यो कसरी सम्भव भयो ?

– प्रदेशसभा जीवितै रहेकाले जुन गठबन्धन थियो, त्यो कायमै छ । अहिलेको अवस्थामा संविधान र प्रदेश संरचना बचाउनका लागि पनि यो गठबन्धन आवश्यक छ । बरु अझ बलियो गठबन्धन बनाउनुपर्ने अवस्था छ ।

आन्दोलनपछिको क्षतिबारे प्रदेश सरकारले केही गरेको छ ?

– आन्दोलनपछिको अवस्थाबारे हामीले असोज २ गते मन्त्रिपरिषदको बैठक बसेर निर्णय गरेका छौं । भौतिक संरचनाहरूको क्षतिको यकिन विवरण र पुनर्निर्माणको अवस्थाबारे अध्ययन गर्न मेरो मन्त्रालय (भौतिक पूर्वाधार विकास मन्त्रालय) लाई जिम्मेवारी दिइएको छ । हामीले एउटा समिति बनाएर काम सुरु गरिसकेका छौं । कात्तिक ९ गतेभित्र मन्त्रिपरिषदमा प्रतिवेदन पेस गर्छौं ।

तपाईंहरुले सर्वदलीय बैठक राखेर प्रदेशसभाको बैठक दशैं अघि नबस्ने भन्नुभयो । त्यसको मुख्य कारण बैठक बस्ने ठाउँ नै नभएको भन्नु भएको छ । प्रदेश सभाको बैठक त बिग्रिएको, भत्केको संरचनामै पाल टाँगेर बसेको भए पनि एउटा सन्देश दिन सकिन्थ्यो होला नि !

– प्रदेश सरकार त्यसमा तयार छ । तर परिस्थिति त्यस्तो थिएन । प्रदेशसभा बस्ने ठाउँ नै थिएन । चौरमै बस्ने अवस्था पनि थिएन । व्यवस्थापन गर्न केही दिन समय लाग्छ । हामीले सर्वदलीय बैठक बसेर दलहरूको भावना बुझ्ने काम गरेका छौं । हामी छिट्टै प्रदेश सभाको बैठक बोलाउँछौं । प्रदेश सभाले संकल्प प्रस्ताव पास गरेर जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरूलाई सम्बोधन गरेर जाने परिस्थिति निर्माण गर्छौं ।

अन्त्यमा, यो समग्र परिस्थिति हेर्दा देश यो संकटबाट बाहिर निस्किन्छ भन्नेमा तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?

–म आशावादी छु । तर, यसका लागि राजनीतिक कर्म गर्ने हरेक व्यक्तिले सुशासनलाई नारामा होइन, व्यवहारमा उतार्नुपर्छ । म आफैँबाट सुरु गर्नुपर्छ । जस्तै, म कोशी प्रदेश सरकारको मन्त्री हुँ । म मधेश प्रदेश औपचारिक कार्यक्रममा जाँदा झण्डावाल गाडी लिएर गएँ, तर काठमाडौँ सरकारी काममा जाँदा झण्डा र सरकारी गाडी प्रयोग गरिनँ । किनभने मेरो अधिकार क्षेत्र कोशी प्रदेश हो । यो अनुशासन कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व दुवैमा हुनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा निर्मम हुनुपर्छ र अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । यदि हामीले सुशासनलाई साँच्चिकै व्यवहारमा लागू ग¥यौं भने यो देश समृद्ध बन्न धेरै समय लाग्दैन । जलेको ठाउँबाट फेरि उठ्नुबाहेक हामीसँग विकल्प छैन ।