विराटनगर । गत महिना भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मोरङले भोलि बुधबारदेखि आंशिक रूपमा सेवा प्रवाह सुचारु गर्ने जानकारी दिएको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै अत्यावश्यक केही सेवाहरू पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो ।
कार्यालयका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कार्यालयमा रहेका सवारी साधन, कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्रीमा चोरी, लुटपाट तथा आगजनी भएको थियो । उक्त घटनाका कारण हालसम्म अत्यावश्यक सेवा प्रवाह समेत हुन नसकेको अवस्था थियो ।
जारी सूचनामा उल्लेख भएअनुसार, भोलि बुधबार, अर्थात् असोज ८ गतेदेखि नाबालक परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवाहरू सञ्चालन हुनेछन् ।
सूचना अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा भने अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित नै राखिएको छ । यी सेवाहरू कहिलेदेखि सुचारु हुनेछ भन्नेबारेमा पछि जानकारी दिइने जनाएको छ ।
