जेनजेड आन्दोलन

दुई नाबालकले दुई वर्षमा गुमाए आमाको काख र बाबुको सहारा

दुई वर्ष अगाडि आमाको मृत्यु भोगेका दुई बालकका बुबाको पनि भक्तपुरमा गोली लागेर मृत्यु

विराटनगर । भक्तपुरमा भएको जेनजेड आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ४२ वर्षीय साजन राईको मृत्यु भयो । दुई वर्षअघि श्रीमती गुमाएर एकल अभिभावकको रुपमा दुई छोराको सहारा बनेका साजनको मृत्युसँगै उनका ६ र १२ वर्षका छोराहरू पूर्ण रूपमा टुहुरा बनेका छन् । बाबु आन्दोलनमा मारिएको खबरबाट बेखबर ती नाबालक छोराहरु केही दिनसम्म भक्तपुरको डेरामा एक्लै बसेका थिए ।

साजनका आफन्त विश्वसिंह माबुहाङका अनुसार साजनको मृत्युले उनीहरूको परिवारको भविष्य नै अन्धकारमय बनेको छ । ‘श्रीमतीले दुई वर्षअघि नै आत्महत्या गरेर संसार छाडेकी थिइन्, उ एक्लैले मजदुरी गरेर भक्तपुरमा दुई छोराहरूलाई पालिरहेको थियो,’ उनले भने, ‘अब ती बच्चाहरूको अवस्था के हुने भन्ने कुराले हामी सबैलाई गम्भीर बनाएको छ ।’ मूल घर संखुवासभाको सिलिचोङ–५ भए पनि साजन श्रीमती सुनिता थेबेलाई लिएर छोराछोरीसहित काठमाडौं छिरे । पति पत्नी ज्याला मजदुरी गरेर भक्तपुरमा कोठा भाडामा लिएर बसिरहेका थिए । तर, दुई वर्षअघि उनले श्रीमती थेबेलाई गुमाए । त्यसपछि दुई नाबालक छोराहरूको हेरचाह र पालनपोषणको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो ।

भदौ २३ गते जेनजेड आन्दोलन भयो । आन्दोलन हिंसात्मक बन्दा २१ जनाको मृत्यु भएको खबर साजनले पनि पाए । अनाहकमा विद्यार्थी र बालबालिकाको मृत्युको खबरले आक्रोशित बनेका उनी भदौ २४ गते बिहानै भक्तपुरको ठिमीमा भएको प्रदर्शनमा सहभागी भए । सोही क्रममा प्रहरी चौकी नजिक भएको झडपका क्रममा उनको गोली लागेर मृत्यु भयो । १२ वर्षको छोरा रेक्जेन राई र ६ वर्षको जिनी राईलाई छोडेर आन्दोलनमा गएका उनको मृत्यु भएको खबर तीन दिनसम्म आफन्तले पाएनन् । उनी घर नफर्किएपछि भक्तपुरमै रहेका छिमेकी र आफन्तले खोजी सुरु गरे ।

उता, अस्पतालमा उनको शवको सनाखत हुन सकेको थिएन । आफन्तले तीन दिनसम्म विभिन्न अस्पतालमा खोज्दै जाँदा २७ गते मात्र केएमसी अस्पतालमा उनको शव भेटे । ‘हामीले त दुई–तीन दिनपछि मात्रै थाहा पायौं’, आफन्तले विश्वसिंहले भने, ‘बुबा कता गयो भनेर बच्चाहरूले छिमेकीलाई भनेछन् । उनीहरु कोठामा एक्लै थिए । पछि आफन्तले खोजी गर्दा मात्र घटना बाहिर आयो ।’

साजनको शवलाई काठमाडौंबाट विराटनगर हवाइजहाजमा ल्याइयो र मंगलबार धरान लगेर उनको जातीय संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । उनको शवमा धरानका नगरप्रमुख हर्क साम्पाङले नेपालको झण्डा ओडाएका थिए । मृतक साजनका दुवै छोरा हाल धरानमा रहेका आफ्ना ठूलोबुबा (मृतकको दाजु)को घरमा छन् । उनीहरूको आर्थिक अवस्था निकै कमजोर छ । ‘उहाँको दाई पनि सुकुम्बासीजस्तै सानो झुप्रो बनाएर बस्नुभएको छ, अब ती बच्चाहरूको पालनपोषण, शिक्षादीक्षा कसरी अगाडि बढाउने भन्ने ठूलो चुनौती छ,’ विश्वसिंहले भने ।

भक्तपुरमा हुँदा दुवै छोराहरू स्थानीय विद्यालयमा पढ्दै थिए । यो दुःखद घटनापछि समुदाय र आफन्तहरूले बच्चाहरूको भविष्यका लागि सहयोग जुटाउन थालेका छन् । ‘सरकारले दिने क्षतिपूर्ति कसरी पाउने, कसरी लिने भन्ने पनि अभिभावक नभएका कारण समस्या छ । यस्तो बेला सबैको सहयोग आवश्यक भयो,’ विश्वसिंहले भने ।

उनका अनुसार, स्थानीय स्तरमा केही सहयोग रकम संकलन भए पनि त्यो बच्चाहरूको दीर्घकालीन भविष्यका लागि अपर्याप्त छ । आन्दोलनले एक होनहार युवा र एक अभिभावक खोसेको छ भने दुई नाबालकको भविष्यलाई अनिश्चितताको भुमरीमा धकेलिदिएको छ ।

अशोज ३, २०८२, बिहानको ०७:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर