हप्ता अघिदेखि सुरु हुँदै आएको जितियाका कार्यक्रमहरू स्थगन

विराटनगर। ‘जितिया पावनि बड भारी, धियापुताकेँ ठोकि सुतेलनि अपने खएलनि भरि थारी’ मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ, जसको अर्थ हुन्छ, ‘जितिया पर्व गर्न एकदमै गाह्रो छ, बालबालिकालाई सुताएर व्रतालु महिलाले थालभरि खान्छन् ।’

जितिया पर्वसँग जोडिएको यो कथनबाट दुईवटा अर्थ आउँछ । एउटा, यो पर्व मनाउन एकदमै गाह्रो छ र अर्को, व्रतालुले थालभरि खान्छन् । यिनै दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसँग घनिष्ठ सम्बन्ध रहेको छ । जितिया पर्वको बारेमा भविष्य पुराणमा वर्णन गरिएको छ ।

आश्विन कृष्णपक्ष अष्टमी तिथिका दिन उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात् जितिया व्रतलाई विधिवत् रूपमा समापन गरिन्छ । तर, असोजको सुरुवातसँगै जितियाको रौनक तराईमा देखिन थाल्छ ।

विभिन्न जातीय महिला संघ(संस्थाहरूले जितिया पर्वपूर्व विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने गरेकाले पनि पर्वमा रौनकता तराईमा थपिँदै गएको थियो । तर यस पटक भने जेनजीले गरेको आन्दोलनले रौनकतामा प्रभाव पारेको छ ।
मिथिलाञ्चलमा जितिया व्रत लिने महिलाहरू एकदिन अघिदेखि ‘सधवा’ अर्थात् (श्रीमान् जीवितै रहेकी महिला) ले ‘माछ, मडुवा’ (माछा र कोदो) खाने चलन रहेको छ भने विधवाले ‘अर्वा–अर्वाइन’ अर्थात् नुनविनाको खाना खाने चलन छ ।
जितिया व्रत सुरु हुनुअघि र अष्टमी तिथिको सुरुवातभन्दा पहिले चिउरा(दही खाने चलन छ, जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ । ओठगन आश्विन कृष्णपक्ष अष्टमीको तिथिभन्दा पहिले गर्ने गरिन्छ ।

पानीसम्म नखाई निराहार व्रत बस्नुपर्ने भएकाले जितिया पर्व गर्न गाह्रो छ र दुई दिनसम्म उपवास बस्नुपर्ने भएकाले अष्टमी तिथि सुरु हुनुअघि दही(चिउरा पेटभरि खानुलाई मैथिली कथनले जोडेको छ । प्रायः अष्टमी तिथिको सुरुवात बिहान ३४ बजेपछि हुने गर्दछ । त्यतिबेला बालबालिका सुतिरहेका हुन्छन् । त्यसैले मैथिलीमा भनिएको छ, “जितिया पावनि बड भारी, धियापुताकेँ ठोकि सुतेलनि अपने खएलनि भरि थारी ।” निराहार बस्ने यो व्रतमा अष्टमी तिथिको सुरुवातसँगै व्रतालुहरू पोखरी, नदी तथा जलाशयमा स्नान गरी पूर्वतिर फर्केर तामाको अर्घामा अर्घ लिएर भगवान् सूर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना पनि चढाउँछन्, सँगै त्यो तेल र पिना आफ्नो पुत्रको टाउकोमा लगाइदिने प्रचलन छ ।

पुत्रको दीर्घायुको कामनाका साथ महिलाले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिवाहन राजाका पुत्र जिमुतवाहनको कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्जित पारेर पोखरीको निर्माण गर्छन् । त्यसपछि ‘पाकैर’ अर्थात् पाकरी रुखको हाँगा ल्याई त्यसलाई रुखको रूपमा रोपेर त्यसमाथि माटोको ‘चिल्होरि’ अर्थात् चिलको आकृति बनाएर राखी तल ‘गिदरनि’ को आकृति बनाएर राखी दुवैको टाउकोमा सिन्दुर लगाई फूलमाला, अक्षता, धूप(दीप, नैवेद्य (जसमा केराउ र काँक्रो अनिवार्य राखिन्छ) सहित बाँसको पात राखी पूजा गर्नाले वंशवृद्धि हुन्छ र पुत्रको जतिसुकै नराम्रो ग्रहचक्र भए पनि मुक्ति मिल्नुका साथै सबै प्रकारको मनोरथ पूरा हुने जनविश्वास रहिआएको छ ।

जितिया व्रतको पहिलो दिन व्रतालु महिलाले जिमुतवाहनको कथा सुन्ने र कथा वाचन गर्नेलाई यथाशक्य दक्षिणा दिने चलन छ । यस पटक भने जितिया शनिबारदेखि सुरु भएको छ । शनिबार नहाई(खाई, आइतबार दिनभरि उपवास गरी सोमबार बिहान साढे ६ बजे व्रत तोडिनेछ । आइतबारको बिहानपख ओठगन खाएर व्रतालुहरू आइतबारदेखि व्रतमा बसेका छन् । यस पटक खरजितिया लागेको छ ।

भदौ २६, २०८२, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर