विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरेको सिप्रिङ गाउँमा भदौको पहिलो हप्ता एउटा हृदयविदारक घटना भयो । जुन घटनाले गाउँ नै स्तब्ध छ । यो घटना वैदेशिक रोजगारीको अनिवार्य नियतिले उजाडिएको एउटा परिवारको हो ।
स–परिवारलाई सुख दिने सपना बोकेर २०८० साल असारमा कुवेतमा रोजगारीका लागि उडेका थिए ४१ वर्षीय डम्बरबहादुर मगर । तर, उनको यात्राको अन्त्य यति निर्मम होला भन्ने कसैले सोचेको थिएन । भदौ ४ गते नसोचेको त्यही खबर आयो, ‘डम्बरबहादुरको मृत्यु भयो ।’ त्यो खबर जब धनकुटामा रहेकी उनकी ३३ वर्षीया श्रीमती विद्या मगरको कानमा पर्यो । श्रीमान गुमाएको खबर विद्याका लागि केवल एउटा समाचार थिएन । त्यो त उनको जीवनमाथि मडारिएको अनन्त कालो बादल थियो । वियोगको त्यो धक्का उनले सहन सकिनन् । श्रीमान्को मृत्युको खबर सुनेको तीन दिनपछि अर्थात् भदौ ७ गते विद्या बेहोस् भइन् । उनलाई उपचारका लागी हतार–हतार जितपुर नगर अस्पताल पुर्याइयो । तर, अस्पताल पुर्याएको केही समयमै उनले प्राण त्यागिन् । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।
कुबेतमा बुबाको शव कुरेर बसेकी आफ्नी आमाले पनि प्राण त्यागेपछि त्यो पीडा सहने पालो आयो तीन छोरीको काँधमा । डम्बर–विद्याका १६ वर्षीया जेठी छोरी विपना, १५ वर्षीया माइली छोरी सञ्जु र केवल २ वर्षकी कान्छी छोरी समिता त्यो पीडा सहन बाध्य छन् । उनीहरु टुहुरा भएका छन् । अझै दर्दनाक कथा के हो भने आफ्नी आमा विद्याको काजकिरिया गरेर उनीहरु बुबा डम्बरबहादुरको शव कुरिरहेका छन् । शव आएपछि उनै कलिला छोरीले उनको चितामा दागवत्ती दिनेछन् ।
बाबुआमा दुवैको छत्रछायाँ एकैपटक गुमाएका यी कलिला बालिकाहरुका लागि संसार अहिले शून्य जस्तै बनेको छ । त्यो दृश्य आमा विद्याको अन्त्येष्टि गर्ने तयारी हुँदाको रुवाबासीले पनि देखाएको थियो ।
नदी किनारमा काठ र ढुङ्गाले ठडाइएको चितामाथि आमाको पार्थिव शरीर राखिँदै थियो । वरिपरि मलामी (गाउँले, आफन्त र छरछिमेक)को भीड थियो । जसका आँखाबाट आँसुका धाराहरू अविरल बगिरहेका थिए । तर त्यो चितामा दागबत्ती दिने हातहरू निरिह थिए । आमाको शव राखेको चितामा जब जेठी छोरी विपना र माइली छोरी सञ्जुले आगो सल्काए पुनः एक पटक रुवाबासी चल्यो । मसानघाटमा रुवाबासी चल्यो ।
भिडियोमा देखिएको त्यो क्षण । एउटा भयावह यथार्थ थियो । जसले वरपरको शान्त वातावरणलाई रुवाबासीमा बदल्यो । आमा… आमा.. भन्दै उनीहरूले गरेको कारुणिक क्रन्दनले त्यहाँ उपस्थित सबैको आँखाबाट आँसु बगायो । दुई वर्षकी कान्छी समिता भने शायद के भइरहेको छ भन्ने कुराबाट अनभिज्ञ थिइन् ।
यो पीडाको उत्कर्षमा अर्को दुःख थपिएको छ । बुबा डम्बरबहादुरको शव अझै कुवेतबाट आइपुगेको छैन । ‘हामीले छिटो ल्याउन पहल गरिरहेका छौं,’ महालक्ष्मी नगरपालिका १ का वडाध्यक्ष टेकबहादुर गुरुङले भने । त्यही घरमा तीन महिना अगाडि डम्बरबहादुरका बुबा अन्दाजी ६५ वर्षीय हरिबहादुर सुस्लिङ मगरको पनि मृत्यु भएको थियो । एक वर्षभित्र एउटै परिवारले तीन सदस्य गुमाउनुको त्रासदीले सिङ्गो गाउँलाई नै शोकमा डुबाएको छ ।जेठी बिपना र माइली सञ्जु धनकुटाको तल्लो गोकुण्डेमा कोठा भाडामा लिएर पढ्दै थिए । अब उनीहरूको पढाइ कसरी निरन्तरता पाउनेछ ? कान्छी समिताको लालनपालन कसले गर्नेछ ? यो प्रश्नले आफन्त, छरछिमेक र सिङ्गो समाजलाई चिन्तित बनाएको छ ।
मृतक विद्याका दाजु गणेश मगरले मृतक डम्बरबहादुरको लुगाफाटा र अन्य कागजातको प्रक्रिया सकिएको तर शव बुझाउन बाँकी रहेको बुझिएको बताए । ‘विदेशको ठाउँ भएकाले प्रक्रियामा समय लागेको भन्छन्,’ उनले भने । विद्या मगरको काजकिरिया हिजो गत शुक्रबार सकियो । काजकिरियामा दुई छोरीहरू विपना र सञ्जु बसेका थिए । ‘दुई वर्षकी कान्छी छोरी नाबालक भएकाले उनले जान्दिनन्, उनको भागमा त भोक मात्रै परेको हो,’ मामा गणेश मगरले भने ।
बाबुको शव आएपछि फेरि ती नानीहरूले नै आफ्नै रीतिरिवाजअनुसार १२ दिनसम्म बार्नुपर्ने उनले बताए । ‘जुन छोरीहरूको स्वास्थ्यमा असर नपर्ने गरी गर्ने कुरा छ,’ उनले भने । अहिले तीन छोरी हाल त्यही सिप्रिङ, कटहरेस्थित आमा–बुवाको घरमै छन् । जेठी र माइली छोरी तल्लो गोकुण्डेमा कोठा भाडामा लिएर पढ्दै थिए । उनीहरूको पढाइ निरन्तरता दिनका लागि फेरि त्यही कोठामा राखेर पढाउने कुरा भइरहेको गणेशले बताए ।
डम्बरबहादुरको मृत्युको कारण पुष्टि भएको छैन । औषधिले काम नगरेर मृत्यु भएको भन्ने सुनिएको कुरा मामा गणेशले बताए ।
स्थानीयले बुबाआमा गुमाएका बालबालिकाको भविष्यका लागि सबैको चासो दिनुपर्ने बताएका छन् । ‘हामी उनीहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागि परेका छौँ । काम गर्ने अभिभावक गुमाएपछि बालबालिकालाई समस्या हुन्छ भनेर आर्थिक सङ्कलन सुरु गरेको छौं,’ स्थानीय बिमला थापाले भनिन् । महालक्ष्मी नगरपालिकाले सहयोग गर्ने बचन दिएको पीडित परिवारले जनाएको छ । पालिकाले दुई छोरीको वार्षिक करिब ६० हजार लाग्ने पढाइ खर्च बेहोर्ने घोषणा गरेको छ । बिपना मगर धनकुटा सदरमुकामस्थित तल्लो गोकुण्डेमा कक्षा १२ मा र सञ्जु सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् ।

