विराटनगर । रातको सन्नाटालाई चिर्दै त्यो घरबाट चित्कारको आवाज आयो, जहाँ सात दिनदेखि केवल मन्त्रोच्चारण र शोकको मौनता छाएको थियो । त्यो घर, जहाँ ७१ वर्षीय वृद्ध हरिनारायण कामतले भर्खरै जीवनसंगिनी गुमाएका थिए, उनका छोराहरूले आमा गुमाएका थिए र पूरा परिवार मातृवियोगको पीडामा डुबेको थियो । हिन्दु संस्कारअनुसार ४९ वर्षीय माइला छोरा किरण कामत आमाको मृतआत्माको चीरशान्तिको कामना गर्दै किरियामा थिए । यस्तो अत्यन्तै संवेदनशील र दुःखद घडीमा समाजबाट सहानुभूति र सान्त्वनाको अपेक्षा गरिएको हुन्छ । तर, विराटनगर–११ पिचरास्थित दुर्गा मन्दिर अगाडिको कामत निवासमा सोमबार मध्यरात आफन्तबाट सान्त्वनाको सट्टा अकल्पनीय अमानवीय आक्रमण भयो ।

बसोबास गर्दै आएको जग्गाको स्वामित्वको विवाद झिकेर मदिराको नसामा लठ्ठिएका दुई व्यक्तिले शोकमा रहेका चार जनामाथि घरमै पसेर आक्रमण गरेका थिए । उनीहरूले किरियामा बसेका किरणलाई मात्र होइन, उनलाई बचाउन खोज्ने बहिनी, भाइ र वृद्ध बुवालाई समेत आक्रमण गरेका थिए ।

कहालीलाग्दो मध्यरात

सोमबार रातको करिब साढे १२ बजेको थियो । कामत परिवारका सदस्यहरू दिनभरको थकान र मनभरिको पीडा बोकेर आराम गर्ने तरखरमा थिए । किरियामा बसेका किरण पनि आफ्नै धुनमा थिए । यही बेला स्थानीय प्रमोद सहनी र सुनिल सहनी मदिराले मातिएर कामतको घरमा पुगे । सुरुमा उनीहरूलाई देखेर परिवारले सोच्यो, सायद समवेदना प्रकट गर्न वा साथी बस्न आएका होलान् ।

तर, उनीहरूको नियत फरक थियो । घरभित्र पस्नासाथ उनीहरूले अर्कै व्यक्ति मनोज साहको नाम लिँदै चर्को स्वरमा अपशब्द बोल्न र गालीगलौज गर्न थाले । शोकमग्न र जुठो परेको घरमा यस्तो अभद्र व्यवहार असह्य थियो । किरियाको नियममा बाँधिएका किरणले संयमतापूर्वक हात जोड्दै भने, ‘दाइ, हाम्रो घरमा आमा बित्नुभएको छ, म किरियामा छु । कृपया यहाँ आएर यसरी गालीगलौज नगरिदिनुहोस् ।’

किरणको यही विनम्र आग्रह उनीहरूका लागि ज्वालामुखी बन्न पुग्यो । मदिरा र शक्तिको घमण्डमा चूर उनीहरूले ‘तँ हामीलाई सिकाउने ?’ भन्दै किरणमाथि जाइलागे । प्रमोद र सुनिलले हातमा बोकेको बाँसको भाटाले किरियापुत्री किरणमाथि अन्धाधुन्ध प्रहार गर्न थाले । ‘उनीहरूले कुनै दयामाया देखाएनन्, म किरियामा छु भन्दा पनि सुनेनन् । भाटाले मेरो देब्रे खुट्टामा हानेर गहिरो चोट लगाइदिए,’ आफ्नो खुट्टाको घाउ देखाउँदै किरणले त्यो त्रासदीपूर्ण क्षण सम्झिए ।

दाजुलाई निर्घात कुटिरहेको देखेपछि ४० वर्षीया बहिनी काली कामत चिच्याउँदै बचाउन दौडिइन् । तर, उनीहरुले महिलालाई पनि सम्मान देखाएनन् । उनीहरूले कालीलाई पनि भाटाले हिर्काए । त्यसपछि सुनिलले उनको देब्रे हातमा पशुले जस्तै टोकिदिए । “पहिले दाजुलाई कुटे, म बचाउन जाँदा मलाई पनि भाटाले हाने र गालामा मुक्काले हाने । यतिले नपुगेर हातमा नै टोकिदिए,” कालीले आफ्नो हातमा टोकिएको डाम र अनुहारको चोट देखाउँदै भनिन्, “उनीहरूको व्यवहार मानिसको जस्तो थिएन, राक्षसको जस्तो थियो ।”

घरमा हल्ला सुनेपछि कान्छो भाइ सन्तोष कामत र वृद्ध बुवा हरिनारायण कामत पनि प्रतिकारमा उत्रिए । तर, आक्रमणकारीहरूले उनीहरूलाई पनि छोडेनन् । सन्तोषको मुख र निधारमा चोट लाग्यो भने ७१ वर्षीय वृद्ध हरिनारायणको हातमा चोट पुग्यो । एकैछिनमा त्यो शान्त र शोकमग्न घरको वातावरण चित्कार, कोलाहलपूर्ण बनेको थियो ।

जग्गा विवादले निम्ताएको आक्रमण

यो कुनै रिसइबीका कारण भएको भने होइन । विराटनगर–११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गाको विषयले विवाद भएको हो । यो जग्गा मालपोतको श्रेष्तामा डेलादेवी दाहालको नाममा दर्ता छ । तर, विगत ३५ वर्षदेखि यही जग्गामा हरिनारायण कामतको परिवारले घर बनाएर भोगचलन गर्दै आएको छ ।

यो विवाद लामो समयदेखि अदालतमा पनि विचाराधीन छ । जिल्ला अदालत हुँदै तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) ले समेत वि.सं. २०५३ सालमा हरिनारायण कामतको पक्षमा फैसला सुनाएको थियो । अदालतले उक्त जग्गामा उनको बसोबासको हकलाई कायम गरिदिएको थियो । “अदालतले समेत हामीले वर्षौंदेखि भोगचलन गर्दै आएको प्रमाण मानेर हाम्रो पक्षमा फैसला दिएको छ,” पीडितका छोरा सन्तोषले भने, “तर, प्रतिपक्षीहरू अदालतको फैसला मान्न तयार छैनन् ।”

कानुनी रूपमा कमजोर भएपछि प्रतिपक्षीले बल र शक्तिको प्रयोग गर्ने बाटो रोजेको देखिन्छ । जग्गाधनी डेलादेवी दाहालले उक्त जग्गासम्बन्धी सम्पूर्ण कारोबार र मुद्दा मामिला हेर्ने अख्तियारी (वारेसनामा) आक्रमणकारीमध्येका एक, ३५ वर्षीय सुनिल सहनीलाई दिएकी छन् । यही वारेसनामाको आडमा सुनिल र उनका साथी प्रमोदले कामत परिवारलाई उक्त जग्गाबाट हटाउन पटक–पटक धम्की दिने र मानसिक तनाव दिने गरेको परिवारको आरोप छ ।

“उनीहरू हामीलाई यहाँबाट जसरी पनि हटाउन चाहन्छन् । बेलाबेला आएर थर्काउने, धम्काउने गर्थे,” सन्तोषले भने, “अहिले आमा बित्नुभएको, हामी सबैभन्दा कमजोर र शोकमा भएको बेला उनीहरूले यही मौका छोपेर आक्रमण गरे । यो हाम्रो शरीरमाथिको मात्र होइन, हाम्रो संवेदना र संस्कारमाथिको आक्रमण हो ।”

मध्यरातमा भएको घटनापछि पीडित परिवारले तत्काल प्रहरीलाई खबर ग¥यो । सूचना पाउनासाथ प्रहरी चौकी बखरीबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको टोली घटनास्थल पुग्यो । तर, प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीद्वय प्रमोद र सुनिल फरार भइसकेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा थप टोली आयो र राति १ बजेतिर सुनिलको घरमा छापा मा¥यो, तर उनी त्यहाँ फेला परेनन् ।

मंगलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा दुवै आक्रमणकारीविरुद्ध अर्भद्र व्यावहारको मुद्दामा किटानी जाहेरी दियो । उजुरी दर्ता भएलगत्तै मोरङ प्रहरीले तीव्र सक्रियता देखाउँदै दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुडालले घटनाको गम्भीरतालाई स्वीकार गर्दै भनिन्, “पीडित परिवारबाट उजुरी परेपछि हामीले आरोपितहरूलाई नियन्त्रणमा लिइसकेका छौं । घटना अत्यन्तै संवेदनशील प्रकृतिको छ । किरियामा बसेको अवस्थामा भएको आक्रमणलाई हामीले गम्भीर रूपमा लिएका छौं र यस विषयमा गहन अनुसन्धान भइरहेको छ ।”