अब,साँस्कृतिक पर्वहरूको रुपान्तरण गरिनुपर्छ

 विमल लामिछाने

पछिल्लो समय चाडलाई अनुभव र मिलनको हार्दिकता होइन, प्रदर्शनमा सीमित गरिदिएको छ । धर्म र सदभाव भन्दा बढी फेशन देखिन्छ, भक्ति भन्दा बढी ब्राण्ड बोल्छ । यी सबैले महिलालाई चाड होइन, अपमानको भान गराइरहेको प्रष्ट देखिन्छ । यसकाबीच पनि उनीहरू सहकारी र छिमेकीसँग महँगो ब्याजमा ऋण लिएर, पैसा खोज्दै, आफ्नो इज्जत र आत्मसम्मान किन्न बाद्य छन् । एउटा कृत्रिम मुस्कानसहित दर खान जाने नाममा भित्र कुँडिएको मनलाई बाहिर जबरजस्त हँसाउनु परेको छ ।
तीज अब व्यक्तिगत अस्तित्वभन्दा पनि सामाजिक दबाबको विषय बनेको छ । दुई महिनाअघि नै दर खाने कार्यक्रम सुरु हुन्छन्, पार्टी प्यालेस भरिन्छन्, हजारौंको पोशाक, श्रृङ्गार र फोटोशेसनले सामाजिक सञ्जाल रंगिन बनाएर रमाउनेको कमी छैन । जहाँ सादा जिन्दगी बाँच्ने, भोलिको छाकको जोहो गर्न हम्मे परेका महिलाहरू लाजले अनुहार लुकाउँछन्, किनकि उनीहरू तीजमा खुलेर रम्न लायक देखिँदैनन् । माईती र चेलीको मिलनको रुपमा चाडलाई मानिनुपर्ने हो, तर बढ्दो तडकभडकले उनै चेलीहरुको आत्मबल र दिदी बहिनीबीचको एकतामा तिक्तता बढाइरहेको अनुभूति हुन्छ, त्यही चाडले सामाजिक वर्गीय दूरी अझ गहिरो बनाइरहेको देखिन्छ ।

तीजमा के लगाउने ? कति महँगो साडी लगाउने ? दरका नाममा के के खाने ? कुन सेलिब्रेटीको कार्यक्रममा नाच्ने ? अरुहरुको भड्किलो तडकभडक भरिएको फुर्तिमाझ आफू निरीह बनिनेपो हो की जस्ता कयौ प्रश्नहरूमा उनै नारीहरु भित्रभित्रै गुम्सिनु परेको तीतो यथार्थ हामी माझ छचल्किएको छ ।

यस्ता विषयहरुले हामी कता जाँदैछौं, हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्नचिन्ह गहकिलो गरी देखापरेको छ । के चाड भन्ने शब्दको अर्थ अब खर्च गर्न सक्नेलाई मात्र लागू हुन्छ ? के गरिब महिलाको घरमा तीज आउनु पर्दैन ? के उनीहरूले श्रृङ्गार नगर्दा, गहना नलगाउँदा, पार्टीमा नाच्न नजाँदा उनीहरूको स्त्रीत्व अधुरो हुन्छ ? समाजको अगुवाई गर्नेहरुले यिनै हेर्दा सामान्य लाग्ने तर जीवन बोकेका प्रश्नहरुको उत्तर दिनुपर्ने बेला आएको छ । तीजको नाममा भइरहेको यो ‘सांस्कृतिक उपनिवेशीकरण’ अबका सचेत नारीलाई सहन नहुनुपर्ने हो ।

चाडहरुलाई पुरातन सोच र चिन्तनको विरुद्ध परिवर्तन ल्यायाउने वा समाजको परिवर्तन खोज्ने सचेतना र क्रान्तिको चाडको रुपमा विकसित हुँदै अन्धविश्वास तोड्ने माध्यम बनाइनु पर्थ्यो । महिला मुक्ति र आत्मचेतनाको चाडको रुपमा विकास हुनुपर्ने थियो । त्यो चाड जसले परम्परालाई आधुनिकतासँग समाहित गरेर विवेकपूर्ण दृष्टिकोण दिनुपथ्र्यो । तर आजका चाडहरु, उल्टै आत्महीनताको कारक बनिरहेका छन् ।

अब समय आएको छ, परिवर्तनका पक्षमा आवाज उठाउने र आफूलाई क्रान्तिकारी महिला भन्नेहरुले तीजलाई पुनः द्रष्टव्य बनाउने  । हाम्रा चाडहरु केवल परम्परा धान्ने विषय होइनन्, एक सांस्कृतिक आन्दोलनको सवाल पनि हो  । यस्तो आन्दोलन, जसले तीजलाई फेरि सबै वर्गका महिलाको चाड बनाउन सकोस् । जसले खर्च होइन चेतना बाँड्न सकोस् । जसले नचाउनेमात्र होइन दविएर बस्न बाद्य नारीहरुलाई समानतामा उठाउने काम गर्न सकोस्  । तीजमा बेहोस हुनेगरी खाएर मातेर लठ हुने दर होइन विचार बाँड्न सकोस्, नारीहरुमा श्रृङ्गारको प्रतिष्पर्धा होइन आत्मबलको समानता देखियोस् । तीजले हाम्रा दिदीबहिनीहरूको मुहारमा ‘कृत्रिम मुस्कान’ होइन, वास्तविक सन्तोष ल्याओस् ।

यदि तीज, दशैं र तीहारजस्ता चाडलाई हामीले यस्तै भड्किलो बनाउँदै लग्यौं भने त्यो दिन टाढा छैन, जब चाड आफैं एक बोझ बन्न पुग्नेछ  । त्यसैले अहिले नै घच्घच्याउने बेला हो  । तीज, अब केवल रमाइलोको नाममा खर्च गरिने चाड होइन, यो महिला चेतना, सादगी, सामाजिक समानता र सांस्कृतिक पुनर्जागरणको आन्दोलन बन्नुपर्छ । नकि बर्सेनि ऋणको भार थपिने नभइ कटौती गर्दै लान सकियोस् ।

पछिल्लो समय नागरिक समाजमा एक गम्भीर प्रश्न उठ्न थालेको छ, के ती क्रान्तिकारी महिलाहरू पनि तीज, दशैं, तिहार जस्ता पर्वहरूमा बढ्दो भड्किलो प्रदर्शन र सांस्कृतिक विसंगतिहरूको प्रभावबाट अछुतो रहन सकेका छन् ? क्रान्तिकारी महिलाहरुमा त समाजलाई एकताबद्ध गर्ने, सामूहिक पहिचान निर्माण गर्ने र सकारात्मक ऊर्जा दिने अवसर हुनुपर्ने हो । तर ती अवसरहरू अहिले उपभोगतावाद, देखावटी, र अनावश्यक खर्चमा सीमित हुन थालेका छन् ।

अब सवाल परिवर्तनको मात्रै बाँकी छ । समाजमा भएका असमानता, अन्याय र शोषणका विरुद्ध आवाज उठाउने महिलाहरूलाई हामीले परिवर्तनका संवाहक वा “क्रान्तिकारी”को रूपमा चिन्ने गरेका छौं । ती महिलाहरूले पितृसत्ताको जरा हल्लाउने हिम्मत देखाउन सक्ने कि पुरानै ढोगीं, परम्परागत लिङ्गभेदमा समर्पण गरेर सती जाने ? प्रश्न यो हो ।
हिजो वर्गीय आन्दोलनको नेतृत्व गरेर मुलुक परिवर्तनको पक्षमा उभिएका महिलाहरु आज त्यही वर्गका केही महिलाहरू चुप लागेर पुरानै लयमा लय मिलाउँदै लुरुलुरु छन् । आज, उनीहरू आफैं त्यो भड्किलो उपभोगमा रमाउन थालेका देखिन्छन् । यो देख्दा नागरिकहरूमा अब परिवर्तनको आशा मरेको हो कि भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।

क्रान्तिकारी हुनु भनेको चाडपर्व मनाउनु हुँदैन भन्ने होइन, तर त्यो चाडपर्वको भित्रि अर्थ र आफ्नो भूमिकामा चेतनशील हुनु अत्यावश्यक र महत्वको सवाल हो । क्रान्तिकारी महिलाहरूले पर्वहरूलाई आफ्नो चेतना विस्तार गर्ने माध्यम बनाउन सक्नुपर्छ । तीजमा गीतमार्फत महिलाका समस्या उठाउने, दशैंमा बलीका हिंसाको विरोध गर्ने, तिहारमा लैङ्गिक असमानताविरुद्ध आवाज उठाउने कार्यहरू हुनसक्छन् । परिवर्तन भनेको त्याग होइन, पुर्नसंरचना हो । अब,साँस्कृतिक पर्वहरूको पुनःसमीक्षा र पुनःपरिकल्पना आवश्यक छ । पुर्नसंरचनामा क्रान्तिकारी महिलाहरुको भूमिका देखिदैन । यसैल क्रान्तिकारी महिलाहरूले फेरि आफैंभित्रको नेतृत्व क्षमतालाई पुनर्जागृत गर्नु अहिले आवश्यकता खड्किएको देखिन्छ ।

Supported only between 1944-2022