
सरस्वती पोखरेल
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानयुक्त मुलुक हो । हाम्रो देश पर्वहरूको देशको रूपमा पनि परिचित छ । पर्वहरूले हाम्रो संस्कार, संस्कृति र परम्परालाई समृद्धसमेत बनाउँदै लगेको छ । हामीले मनाउँदै आएका पर्वमध्ये तीज एक हो । तीजले नेपाली महिलाहरूको प्रमुख पर्वका रूपमा विशेष स्थान पाउँदै आएको छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयादेखि मनाइने यो पर्व केवल धार्मिक श्रद्धामा मात्र सीमित नभई सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिले समेत महत्त्वपूर्ण बनेको छ । ऐतिहासिक कथनअनुसार पार्वतीले शिवलाई पति पाउनका लागि वर्षौंसम्म कठोर तपस्या र व्रत गरेकी थिइन् । उनको त्यो अटुट भक्ति सफल भई शिव–पार्वतीको विवाह भयो । यही किम्बदन्तीका आधारमा महिलाहरूले तीजमा व्रत वसि पारिवारिक सुख, शान्ति, समृद्धि र श्रीमान्को दीर्घायुको कामना गर्ने परम्परा सुरु भएको मानिन्छ ।
नेपाली समाज लामो समय पितृसत्तात्मक मूल्य–मान्यता, संस्कार र संरचनामा आधारित भएर विकास हुँदै आएको समाज हो । महिलाको मुख्य भूमिका घरपरिवार, कृषि, घरेलु रहनसहन र सन्तान हुर्काउने लगायतमा सीमित थियो । बाल्यकालमै छोरीहरूको विवाह गरिदिने, जस्तोसुकै कठोर समस्या आएपनि घर गरी खानुपर्ने, श्रीमान्को मृत्यु भएमा सति जानुपर्नेसम्मको परम्पराले हिन्दु नारीहरू कति प्रताडित थिए शब्दमा अभिव्यक्त हुनै सक्दैन । सतिप्रथा जस्तो अमानवीय र क्रूर प्रथा हट्यो तर श्रीमानले जतिवटी श्रीमती ल्याएपनि सहनुपर्ने, श्रीमान्को मृत्युपछि आजीवन विधवा वस्नुपर्ने, परिवार र समाजका सबै उत्पीडनको सामना गर्नुपर्ने, बोक्सी जस्तो अमानवीय आरोपबाट अपमानित हुनुपर्ने जस्ता कुराले नेपाली समाजमा महिलाको विकास मान्छेको रूपमै हुन सकेको देखिँदैन । महिलाले सासु–ससुरा, पति वा परिवारको नियन्त्रणमा जीवन बिताउनुपर्ने बाध्यता थियो ।
विभेदको सांस्कृतिक जगमा सुरु भएको तीजपर्वको धेरै महत्त्व र महिमा थियो र छ । विवाहित महिलाले माइती जाने अवसर पाउने मुख्य समय नै तीजपर्व हुन्थ्यो । महिलाहरूका लागि तीजपर्व बुबा, आमा, दाजुभाइ, दिदीबहिनी, साथीसंगीसँग भेट्ने, खुसी र पीडा पोख्ने र मनोरञ्जन गर्ने अवसर थियो । त्यतिबेलाका तीजका गीतहरूमा माइतीको माया, चेलीले भोग्नुपरेका अपमान, अन्याय र आफूले पाएका दुःख–पीडा अभिव्यक्त हुन्थे ।
जस्तैः दाजुभाइ घरमा अटाउनी
छोरीलाई परपुरुष घर पठाउनी ।।
वर्ष दिनको तीजमा बाबा लिन आउनु भो
पठाएनन् घरकाले फर्किजानु भो ।।
समयको विकाससँगै नेपाली समाजमा पनि परिवर्तनको प्रभाव पर्नु स्वाभाविक थियो । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक रूपमा पनि महिलाको सहभागिता सामान्यबाट बढ्दै ०७२ मा संविधान जारी भएपछि सघन हुँदै आएको छ । जिरोबाट सुरु भएर नीति निर्माण गर्ने तहमा महिलाको उपस्थिति प्रभावकारी बन्दै गएको छ । शिक्षा र रोजगारमा महिलाको सहभागिता ह्वात्तै बढेको छ । जग्गा–जमिन र सम्पत्तिमा पनि महिलाको पहुँच बढ्दै गएको छ । जे होस् नियन्त्रण, निर्भरता र असमानताका घेराहरू तोडेर नेपाली महिलाहरू अगाडि बढेको अवस्था छ । यद्यपि महिलाहरूलाई हेर्ने, बुझ्ने, आत्मसात् गर्ने कुरामा सामाजिक संकीर्णताको जन्जाल तोडिन सकेको छैन । महिलाहरूमाथिका भेदभाव, अन्याय, अत्याचारको उत्पीडनमा महिलाहरू अहिले पनि प्रताडित छन् । विभेदको रूप फेरिएको छ, अन्त्य भएको छैन । यस्तो पृष्ठभूमिमा तीजपर्वलाई संस्कार–संस्कृतिको जगेर्ना गर्न, श्रीमान् र परिवारका लागि स्वास्थ्यलाई ध्यान दिँदै व्रत बस्ने धार्मिक अनुष्ठान मात्र नभई महिला अधिकार, समानता, र सशक्तीकरणसँग जोडेर आत्मनिर्भर, आत्मविश्वास पैदा गर्ने पर्वको रूपमा लिनु समय सापेक्ष हुन्छ ।
तीजपर्वले महिलाहरूलाई माइती वा साथीसंगीसँग भेट्ने, रमाइलो गर्ने, दैनिकीका दुःखपीडालाई भुलेर सामूहिक खुसी बाँड्ने अवसर दिन्छ । यो पर्वले पारिवारिक मिलन गराउनुका साथै टुट्न लागेका सम्बन्धलाई मजबुत बनाउँछ । सांस्कृतिक र धार्मिक परम्परालाई समृद्ध गर्दै सामाजिक चेतनालाई जागृत गर्ने गर्दछ । गीत र संगीतमार्फत महिला अधिकार, सामाजिक न्यायको पक्षमा र लैंगिक हिंसा र विभेद विरुद्ध आवाज उठाउनुका साथै यसले महिलाको सामाजिक चेतना र आत्मविश्वास बढाउन सहयोग गर्दछ । तीज नजिकिँदा बजारमा गहना, कपडा, सौन्दर्य सामग्री, मिठाई, माछा–मासु, खाद्यान्न आदिको कारोबार बढाएर साना–ठूला व्यवसायलाई प्रोत्साहन दिन्छ । अहिले प्रायः तीजमा संघसंस्थाहरूले आफ्नो संस्थामा कार्यरत महिलाहरूलाई तीज विशेष कार्यक्रम राखेर दर खुवाउने गर्दछन् । यस्ता कार्यक्रमले एक–आपसको सम्बन्धलाई गाढा बनाउनुका साथै संस्थाप्रति थप विश्वास पैदा गर्दछ ।
महिलाहरूको महान् चाड तीजको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक सबै दृष्टिले सकारात्मक प्रभाव रहेको छ । सम्बन्धहरूलाई आत्मीय बनाएर समाज विकासमै महत्त्वपूर्ण योगदान दिँदै आएको छ । यस पर्वका थुप्रै सकारात्मक पक्ष हुँदाहुँदै पनि बढी खर्चिलो, भड्किलो हुने, गीतसंगीतमा संस्कृतिभन्दा विकृति बढी देखिने, हप्तौँ तीज मान्दा समयको दुरुपयोग हुने, रमाइलो र खुसीका नाममा अखाद्य वस्तुको प्रयोग गर्ने जस्ता कुरालाई निरुत्साहित गर्दै सामाजिक मूल्य, मान्यता र मर्म अनुसार आधुनिक चेतना, सामाजिक न्याय र महिला सशक्तीकरणसँग जोडेर लान सके हामी महिला र तीजपर्वमाथि न्याय हुनेछ ।