पछिल्लो समय कोशी प्रदेशमा लम्पी स्कीन रोगले भयावह रूप लिएको छ । यस विषयमा सांसदहरूले प्रदेश तथा संघीय संसदमा समेत आवाज उठाएका छन् । रोगको प्रकोप, नियन्त्रणका प्रयास, खोपको अवस्था र दीर्घकालीन समाधानका विषयमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवसँग गरिएको कुराकानीको सम्पादित अंशः

कोशी प्रदेशमा लम्पी स्कीन रोगको अवस्था साँच्चै भयावह नै हो ? अहिलेको खास अवस्था के हो ?

– हो, कोशी प्रदेशमा अहिले लम्पी स्कीन रोगको अवस्था भयावह नै देखिएको छ । सांसदहरूले संसदमा उठाउनुभएको कुरा एकदमै सान्दर्भिक छ । हाम्रो तथ्यांकले पनि यसको पुष्टि गर्छ । अहिले प्रदेशका अधिकांश जिल्लामा यो रोग फैलिएको छ र यसबाट हजारौँ पशु प्रभावित भएका छन् भने सयौँको मृत्यु भइसकेको छ ।

अघिल्लो वर्ष नियन्त्रणमा जस्तै रहेको यो रोग अहिले एक्कासी किन यसरी फैलियो ? यसका मुख्य कारणहरू के–के हुन् ?
– यसका केही प्रमुख कारण छन् । गत आर्थिक वर्षमा यो रोग त्यति नदेखिएकाले पालिकाहरूले पनि खोप कार्यक्रमलाई प्राथमिकतामा राख्नुभएन । त्यति ध्यान दिनुभएन । अर्को महत्वपूर्ण कुरा, लम्पी स्कीन रोग अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा समावेश भइसकेको छैन । जसले गर्दा खोरेंत, पीपीआर, स्वाइन फिभर जस्ता रोगको जस्तो नियमित र तालिकाबद्ध खोप कार्यक्रम यसको लागि छैन । अघिल्लो आर्थिक वर्षमा पालिकाहरूले आफ्नै स्रोतबाट पनि व्यापक रूपमा खोप लगाएका थिए, जसले गर्दा रोग नियन्त्रणमा थियो । तर यो वर्ष त्यसो हुन सकेन र रोग फैलियो ।

प्रदेशमा खोपको उपलब्धता र वितरणको अवस्था कस्तो छ ? के खोप अपुग भएको हो ?

–निश्चित रूपमा खोप अपुग छ । पहिले यो खोप नेपालमा उत्पादन हुँदैनथ्यो र निकै महँगो पनि थियो । हालै एउटा निजी कम्पनीले नेपालमै उत्पादन सुरु गरेको छ । पशुसेवा विभागले यस वर्ष १५ लाख डोज खरिद गरेकोमा कोशी प्रदेशलाई करिब ४ लाख डोज उपलब्ध भएको छ, जुन हामीले लगाइरहेका छौं । प्रदेशको कुल पशु संख्या हेर्दा यो मात्रा अपर्याप्त हो । हामीलाई जोखिममा रहेका पशुलाई मात्र लगाउँदा पनि कम्तीमा ८–१० लाख डोज खोप आवश्यक पर्छ । त्यसैले अहिले खोपको अभावकै स्थिति छ ।

यो खोप कत्तिको प्रभावकारी छ ? एकपटक लगाएपछि कति समयसम्म काम गर्छ र कुन उमेरका पशुलाई लगाउनुपर्छ ?

–यो खोप प्रभावकारी नै छ । एकपटक लगाएपछि यसले एक वर्षसम्म पशुलाई सुरक्षा प्रदान गर्छ । त्यसैले हरेक वर्ष लगाउनुपर्ने हुन्छ । सामान्यतया चार महिनाभन्दा माथिका पशुहरूलाई यो खोप लगाइन्छ । यदि माउलाई खोप लगाएको छ भने त्यसबाट जन्मेको बाच्छा÷पाडालाई चार महिनासम्म माउकै शरीरबाट प्राप्त प्रतिरोधात्मक क्षमताले काम गर्ने भएकाले लगाउनु पर्दैन ।

खोपको लागत कति पर्छ ? यदि सरकारले समयमा उपलब्ध गराउन नसके किसानले आफैँ किनेर लगाउन सक्ने अवस्था छ कि छैन र यो कार्यक्रमका लागि प्रदेश सरकारलाई कति बजेट आवश्यक पर्ला ?

–खोपको लागत पहिले निकै महँगो थियो । सुरुवाती चरणमा प्रतिडोज ३००–४०० रुपैयाँसम्म पथ्र्यो । तर अहिले नेपालमै उत्पादन हुन थालेपछि सस्तो भएको छ । सरकारले खरिद गर्दा प्रतिडोज २४ रुपैयाँमा पाएको छ भने बजारमा किसानले किन्दा ५० देखि ६५ रुपैयाँसम्म पर्छ । किसानले आफैँ किनेर खोप लगाउन सक्ने अवस्था छ र बजारमा खोप उपलब्ध छ । यदि सरकारी खोपको प्रतीक्षा गर्न नसक्ने अवस्था भएमा किसानले बजारबाट खोप खरिद गरी प्राविधिक बोलाएर लगाउन सक्नुहुन्छ । यसो गर्दा प्राविधिक शुल्कसहित प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च लाग्न सक्छ । प्रदेशस्तरमा यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारले प्रत्येक वर्ष कम्तीमा २ करोड रुपैयाँ बजेट छुट्याउन सक्यो भने संघबाट आउने खोपमा थप गरेर कार्यक्रमलाई विस्तार गर्न सकिन्छ र रोग नियन्त्रणमा ठूलो मद्दत पुग्छ ।

रोग नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय पालिकाहरूले के–कस्ता कदम चालिरहेका छन् ?

– प्रदेश सरकारले यो रोग देखा पर्छ भन्ने अनुमान गरेर केही तयारी गरेको थियो । हामीलाई विभागबाट प्राप्त भएको खोप जोखिम बढी भएका जिल्लाहरू जस्तै झापा, मोरङ, सुनसरी र अन्य पहाडी जिल्लाहरूमा पनि वितरण ग¥यौँ । यसका साथै, रोग लागेका पशुको उपचारका लागि केही औषधिहरू खरिद गरेर जिल्ला–जिल्लामा पठाएका छौं । हामीले रोग देखिएको क्षेत्रको वरिपरि ‘रिङ भ्याक्सिनेसन’ गर्न र जोखिमयुक्त क्षेत्रमा तत्काल खोप लगाउन निर्देशन दिएका छौं । तर, पालिकाहरूले आफ्नो बजेटबाट कृषि तथा पशु स्वास्थ्यका लागि पर्याप्त लगानी नगरेको देखिन्छ । उहाँहरू संघ र प्रदेशबाट आउने सशर्त अनुदानमा बढी निर्भर हुँदा यस्ता आकस्मिक प्रकोपसँग जुध्न समस्या भएको छ ।

अहिलेसम्म यो रोगबाट कोशी प्रदेशमा कति पशु प्रभावित भएका छन् र कतिको मृत्यु भइसकेको छ ? कुन–कुन जिल्ला बढी प्रभावित छन् ?

–गत आइतबारसम्मको तथ्यांकअनुसार, प्रदेशमा करिब २२ हजार १२२ पशु संक्रमित भएका छन् । यसमध्ये ६३७ पशुको मृत्यु भइसकेको छ । जसमा ६३५ गाईगोरु र २ वटा भैँसी छन् । मृत्यु हुनेमा अधिकांश साना बाच्छाबाच्छी छन् । सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा झापा, मोरङ र सुनसरी रहेका छन् । प्रदेशका १४ जिल्लामध्ये अब ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा मात्र यो रोग देखिएको छैन ।

यदि कुनै पशुलाई लम्पी स्कीन रोग लागिसक्यो भने के हुन्छ ? यसका लक्षणहरू के हुन् र यसको उपचार सम्भव छ ?

– रोग लागिसकेपछि खोप लगाउनु प्रभावकारी हुँदैन । उल्टै त्यसले रोग बढाउन सक्छ । यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । लक्षणअनुसारको उपचार गर्नुपर्छ । यसका मुख्य लक्षणहरूमा शरीरमा कडा गिर्खाहरू (फोका) देखा पर्नु, उच्च ज्वरो आउनु, मुख र नाकबाट सिगान बग्नु, दूध घटाउनु र गर्भ तुहिनु हुन् । उपचारका लागि ज्वरो घटाउने, घाउमा संक्रमण हुन नदिन एन्टिबायोटिक चलाउने र झिंगाबाट बचाउन मलम लगाउने जस्ता उपाय अपनाइन्छ । राम्रो स्याहारसुसार र पोषण पाएमा धेरै पशु निको हुन्छन् ।

यो रोगलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न के गर्नुपर्ला ? के यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न आवश्यक छ ?

–यो एकदमै जरुरी छ । हामीले यो विषयमा संघीय मन्त्रालय र विभागमा बारम्बार छलफल र अनुरोध गरेका छौं । लम्पी स्किन अब नेपालमा स्थापित भइसकेको छ । त्यसैले यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरी दीर्घकालीन समाधान सम्भव छैन । यसो गर्दा खोपको नियमित आपूर्ति, बजेट व्यवस्थापन र देशव्यापी अभियान चलाउन सहज हुन्छ । प्रदेश सरकारले पनि आफ्नो स्रोतबाट खोप खरिद गर्न बजेट बढाउनुपर्छ ।

अन्त्यमा, किसानहरूले आफ्नो पशुलाई यो रोगबाट बचाउन के–कस्ता सावधानी अपनाउन सक्छन् ?

– सबैभन्दा महत्वपूर्ण कुरा जैविक सुरक्षा हो । किसानहरूले आफ्नो फार्म÷गोठ सफा राख्ने, नियमित रूपमा निःसंक्रमण गर्ने (फिनाइल पानी छर्किने) । रोग देखिएको क्षेत्रमा आफ्नो पशुलाई चराउन नलाने र त्यहाँका पशुसँग सम्पर्क हुन नदिने । नयाँ पशु किनेर ल्याउँदा कम्तीमा २–३ हप्ता छुट्टै (क्वारेन्टाइनमा) राखेर मात्र गोठमा मिसाउने । गोठमा बाहिरी मान्छेलाई प्रवेश गर्न नदिने । यदि कोही पसेमा हातखुट्टा र जुत्ता सफा गरेर मात्र पस्न दिने । झिंगा, लामखुट्टे, किर्ना जस्ता कीराहरूबाट पशुलाई बचाउने । समयमै, अर्थात् रोगको सिजन (बर्खा) सुरु हुनुअघि नै (फागुन–चैतमा) आफ्ना पशुलाई खोप लगाउने गरेमा यो जोखिमको अन्त्य गर्न सकिन्छ ।