विराटनगर । झापा जिल्लाको झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरेका एक ६० वर्षीय पुरुषको रुखमा बाँधिएको अवस्थामा शव फेला परेको छ । घटनामा संलग्न भएको आरोपमा मृतकका छोरासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार बिहान करिब ४ बजे स्थानीय ६० वर्षीय जतन सोरेन आफ्नै छिमेकी महादेव टुडुको घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा मृत फेला परेका थिए । मंगलबार राति करिब साढे १० बजे मादक पदार्थ सेवन गरी काम्न थालेपछि छिमेकी र परिवारका सदस्यले उनलाई रुखमा बाँधेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापा प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, ५० वर्षीय छिमेकी महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा, चन्द्रगढीमा ल्याइएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको र रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।