
कोशी प्रदेश सरकारले पर्यटन प्रर्वद्धन लागि २०८२ साललाई “पर्यटन वर्ष २०८२” का रूपमा घोषणा गरिसकेको छ । ‘०८२ का ८२ गन्तव्य’ भन्ने नाराका साथ हरेक जिल्लामा एक प्रमुख गन्तव्य प्रर्वद्धन गरिँदैछ । ती ८२ गन्तव्यमा धरान उपमहानगरपालिका १४ नं. वडाको विजयपुर विशेष महत्वको साथ राखिएको छ र यस अभियानमा विशेष धार्मिक, सांस्कृतिक र ऐतिहासिक गन्तव्यको रूपमा विजयपुर स्थापित हुँदैछ ।
धरानको मुटु मानिने विजयपुर, जहाँ किराँतकालदेखि नै धार्मिक आस्था, शक्तिपूजा, शिवभक्ति र मौलिक परम्पराहरू जीवित छन् । यही क्षेत्रमा अवस्थित दन्तकाली शक्तिपीठ, पिण्डेश्वर महादेव मन्दिर र बुढासुब्बा मन्दिरलाई समेटेर जाने हो भने धरानको मात्र होइन, सिंगो प्रदेशको धार्मिक पर्यटन सम्भावनाको मेरुदण्ड बन्न सक्छ ।
पिण्डेश्वर महादेवधामः ‘अमृतपिण्ड’ का प्रतीक शिव
धरान–१४ स्थित विजयपुर अवस्थित पिण्डेश्वर महादेव मन्दिरलाई पूर्वी नेपालको अत्यन्तै महत्वपूर्ण धार्मिक स्थलको रूपमा लिइन्छ । पिण्डेश्वर महादेव मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व अत्यन्त गहिरो छ । यहाँको शिवलिङ्गलाई ‘अमृतपिण्ड’ भनिन्छ । श्रावण महिनाको उत्र्ताध संगै यसको महिमा र महत्वका साथ हजारौं भक्तजनहरूको ओईरो लाग्ने क्रम जारी छ ।
एक महत्वपूर्ण सम्पदाको रुपमा रहेको पिण्डेश्वर महादेव मन्दिर आफ्नो अनौठो स्वरूपका कारण मात्र होइन, यसको उत्पत्तिका बारेमा रहेका पौराणिक कथाहरु र यसको दीर्घकालीन इतिहासका कारण पनि चर्चित छ । पिण्डेश्वर महादेव मन्दिरको उत्पत्तिलाई लिएर विभिन्न धार्मिक विज्ञहरूले फरक–फरक मत राखेका पनि पाईन्छन् । यद्यपि, यस मन्दिरका मूल पुजारी गोकुल पोखरेलले आफ्नो परिवारले सात दशकभन्दा बढी समयदेखि यहाँ सेवा गर्दै आएका अनुभव र गुरुहरुले सुनाएका कथाहरुको माध्यमबाट यसको उत्पत्तिको विषयमा स्पष्ट जानकारी दिएका छन् ।
मुल पुजारी पोखरेलका अनुसार, ‘हाम्रो परिवारले यो मन्दिरमा ७७ वर्षदेखि भगवान शिवको सेवा गर्दै आएको छ । मेरा बुवा, दाजु, काका र अन्य पूर्खाले यो धर्मलाई अगाडि बढाएका थिए । म पनि उनीहरुको चरण चिन्हहरूमा हिँड्दै यस पवित्र मन्दिरमा सेवा गर्न पाउँदा गर्व महसुस गर्छु ।’

उनले थप्दै गए, ‘यो मन्दिरको वास्तविक इतिहास भनेको ठोस प्रमाणका आधारमा पत्ता लगाउन कठिन छ । शास्त्रहरूमा पनि यसबारे ठोस तथ्य छैन । तर पुरातात्विक दृष्टिले केही प्रमाणहरू भेटिएका छन् । मन्दिरको बाहिर एउटा पुरानो घण्टी छ, जुन नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाले कार्यकालमा चढाएका थिए । अर्को घण्टीमा विक्रम सम्बत १२०० लेखिएको छ, जुन आजभन्दा लगभग ८०० वर्ष पुरानो हो ।’
उनले पिण्डेश्वर मन्दिरको विशेषता बताउँदै भने, ‘पिण्डेश्वरको उत्पत्ति समुद्रमन्थनको समयमा बनेको अमृतसँग जोडिएको छ । पुराणहरूमा उल्लेख छ कि समुद्रमन्थनबाट १४ रत्नहरू उत्पन्न भए, ती मध्ये अन्तिम अमृत थियो जस्लाई प्राप्त गर्नको लागि देवता र दानवबीच ठूलो झगडा भयो । भगवान विष्णुले मोहिनी रूप धारण गरी अमृतको घडा लिएर भाग्दा केही अमृतका थोपाहरू पृथ्वीमा खसेका थिए । ती थोपाहरू भारतका विभिन्न पवित्र स्थानहरू काशी, उज्यैन, हरिद्वार र प्रयागराजमा पुगेका थिए, जहाँ अहिले महाकुम्भ मेला मनाइन्छ । त्यही अमृतमा रहेको छाली ९तर० हल्लिँदा नौनी निस्कियो । त्यँही नौनीलाई स्वयम आफै भगवान नारायणले हातमा निकाल्दा पिण्डरुपी (अथार्त गोलाकार, डल्ला) भयो । यस्ता ‘पिण्डरुपी’ शिव भगवान महादेवलाई स्थापना गरेर पुजा गर्छु भनेर भगवान नारयाणले पुजा सुरु गरेको भनेर गुरुहरुले भनेको छ र त्यो छ ।’
पुण्यस्थलसँग जोडिएका पुराणिक कथाहरूमा सत्ययुगदेखि कलियुगसम्मका विभिन्न युगहरू समावेश छन् । मूल पुजारीले भने, ‘सत्ययुगमा देवता, दानव र ऋषिमुनिहरू थिए । त्यसपछि तेत्रा युग आयो, जसमा भगवान नारायणले राम अवतार लिएर मानवीय जीवन बिताउनु भयो । राम बनवासको समयमा यहाँको रामधुनी क्षेत्र आसपासमा तीन दिन बसेर धुनी बाल्नु भयो भन्ने कथा प्रचलित छ । उक्त धुनी जगाउन यहाँको मन्दिरभित्र रहेको अखण्डबत्तीबाट राम भगवानले दियो सल्काएर लगेर धुनि जगाएको मानिन्छ ।’
उनका अनुसार, द्वापर युगमा महाभारतका पाण्डवहरू वनवासमा हुँदा विराटराजाको दरबारमा गुप्तवास बसेको १ बर्षपछि आफ्ना बुबाको तिथि पिण्डेश्वर महादेव मन्दिरमा श्राद्ध गर्न आए भन्ने पनि धार्मिक कथा रहेको छ ।
२०८० चैत्रको चतरा महाकुम्भको अवसरमा जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ स्नान पछि कौशिकीको जल ल्याएर पिण्डेश्वर महादेव मन्दिरमा अर्पण गरेमा मात्र मोक्ष मिल्छ । ‘साक्षत् अमृतको पिण्ड यिनै पिण्डेश्वर हुन्, हामी नेपालीहरुले बुझ्नु पर्छ, यहाँका बौद्धिक समूह चर्चा गर्न हिच्किाउँछन्, डराउँछन् ।’ उनले भनेका छन् ।
कुम्भ मेलाको अवसरमै अर्का जगदगुरु सिद्धबाबा कृष्णदासको अगुवाईमा भारतका चर्चित धिरेन्द्र कुमार शास्त्री (बागेश्वर बाबा धाम सरकार) स्वयम आएर पिण्डेश्वर महादेव मन्दिरमा रुद्रअभिषेक गरेका छन् ।
पिण्डेश्वर मन्दिरमा जल अर्पण गर्ने परम्परा प्राचीन कालदेखिकै छ । यहाँ सप्तकोशी नदीबाट खाली खुट्टा जल बोकेर भक्तजनहरू पूजा गर्न आउँछन् । श्रावण महिना, जसलाई भगवान शिवको प्रिय महिना मानिन्छ, यस बेला मन्दिरमा भक्तजनहरूको भीड बढ्ने गर्दछ । श्रावण महिना अलवा दैनिक रुद्राभिषेक, रुद्री पाठ, व्रतबन्ध, पिण्डदान, नामकरण, विवाहजस्ता कर्मकाण्ड गरिन्छ ।

पिण्डेश्वर मन्दिर परिसर आर्कषक मझौले पोखरी, जहाँ खडा गरिएकी सरस्वती देवीको प्रतिक पौराणिक, शास्त्र अनुरुप खडा गरिएको छ । परिसर स्वच्छ, शान्त र विस्तारित छ । स्थानीय संघ संस्थाहरुको सक्रियताले मन्दिरको संरक्षण मनासिव छ ।
यसरी, पिण्डेश्वर महादेव मन्दिरको उत्पत्तिको कथाले यसको ऐतिहासिकता र पौराणिक महत्त्वलाई झल्काउँछ । यो धार्मिक सम्पदा धरानको पहिचान मात्र नभई नेपाली संस्कृतिको अमूल्य हिस्सा पनि हो ।
दन्तकाली मन्दिरस् शक्तिपूजाको मुहान
धरान –१४ विजयपुरमै दन्तकाली मन्दिरको धार्मिक महत्व अत्यन्त गहिरो छ । स्वस्थानी व्रतकथाको सन्दर्भमा सतीदेवीको शरीरका अङ्गहरू विभिन्न स्थानमा खसेर शक्तिपीठहरू बनेको भनाइ छ । यही सन्दर्भमा दन्तकाली मन्दिर सतीको दाँत पतन भएको स्थल भनेर श्रद्धापूर्वक पुजिन्छ ।
यहाँको मन्दिर तीन तहको छाना भएको तलेशैलीमा बनेको छ । त्यसले पहाडको काखमा उभिएको भव्य धार्मिक आभास दिने गर्छ । मन्दिरको पछाडिबाट तराईको समथर फाँट र चारकोशे झाडी देखिन्छ भने अगाडिबाट सुनसरी र सप्तरीका हरियाली क्षेत्र र सप्तकोशी नदी बहेको खुला रुपमा देख्न सकिन्छ ।
सालको ठूला रुखबीचबाट सोझै दन्तकाली जाने ढुंगे सिँढी चढ्दा, श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा मिल्ने जनविश्वास छ । यहाँ दशैंको नवरात्री, माघे संक्रान्ति, तीज, चैते दशैंमा विशेष पूजाआजा गरिन्छ । सेनवंशीय शासकहरूको यो मन्दिरलाई आफ्नो इष्टदेवीको रूपमा पुज्ने चलन थियो । आज पनि त्यही परम्पराको निरन्तरता पुजारी खनाल परिवारबाट आठौँ पुस्तासम्म आइपुगेको छ ।
बुढासुब्बा मन्दिरस् प्रेम, श्रद्धा र किंवदन्तीको संगम
धरान –१४ विजयपुरमै अवस्थित बुढासुब्बा मन्दिर आस्थाको मात्र होइन, रहस्यमय किंवदन्तीहरूको संगम पनि हो । ‘किरात धर्माबलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन् । ‘हिन्दू धर्मावलम्बीहरुले बुढासुब्बालाई किरातेश्वर महादेवका रुपमा मानेको छन् ।
अर्कोतर्फ, कतिपयले बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । यसलाई कतिपयले महाभारतकालीन धर्नुविद्याका पारखी एकलव्यको समाधिको कुरा गर्छन् । बुढासुब्बा परिसरमा रहेका बाँसका टुप्पा नबढ्ने जनश्रुति अनुसार आज पनि जीवित छ ।
विशेषगरी प्रेम गर्ने जोडीहरू यो मन्दिरमा पूजा गर्छन् । यहाँको बाँसको छेउमा टिका लगाएर, धागो बाँसमा बाँधिदिएर आप्mनो मनोकामना माग्ने बानी अहिले पनि छ । भाले, रक्सी, अण्डा, सुपारी चढाउने रीत परम्परा अनुसार चलिरहेको छ । परापूर्वकालदेखि पुजारी आले मगर परिवारले मन्दिरको सेवा गर्दै आएको छन् ।
यि तिनै मन्दिरमा विगत परपूर्वकाल देखि नै स्थानियहरु भने धार्मिक वातावरणमा आकर्षित छन् ।
संरक्षण र प्रर्वद्धनको खाँचो
विजयपुर क्षेत्रका यी तीन धार्मिक स्थलः दन्तकाली, पिण्डेश्वर र बुढासुब्बामा जाने सडक विजयपुर चौक सम्म मध्यम किसिमको रहेको छ । विजयपुर चौकबाट पिण्डेश्वर महादेव मन्दिर जाने सडकको अवस्था नाजुक छ । यद्धपी २०८२ को श्रावण महिनाको पहिलो दिन जलअभिषेक कार्यक्रमको उद्घाटन गदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पिण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना प्रदेश सरकारले अघि सारेको बताएका छन् । त्यसको लागि धरान विजयपुर चौकदेखि दन्तकाली हुँदै पिण्डेश्वर महादेव मन्दिर आउने बाटो सुधारका लागि डेढ करोड रुपैयाँको बजेट बिनियोजित भएको छ ।
अर्कोतिर यी मन्दिरहरू बीचको दूरी पैदल यात्रा योग्य छ । त्यसको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिएमा धार्मिक यात्रालाई पैदल यात्रा शैलीमा पुनर्जीवित गर्न सक्छ ।
अन्तर्राष्ट्रिय धार्मिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनाउनको लागि राम्रा गुणस्तरिय साहाकारी खानको राम्रो व्यवस्था भएको होम स्टेहरु अर्थात होटलहरु पनि सञ्चालनमा ल्याउन जरुरी छ । मन्दिर परिसरमा एउटै पनि धर्मशाला छैनन्, उत्कृष्ट धर्मशाला निर्माणमा राज्यको ध्यान जानुपर्ने देखिन्छ । ऐतिहासिक महत्व अनुसार आवश्यक लगानी भने अझै भएको छैन ।
धार्मिक स्थलहरूको भौतिक पूर्वाधार सुधार, डिजिटल प्रर्वद्धन ुक्यूआरु कोडमार्फत जानकारी, मल्टीभाषिक सूचना बोर्ड आदिको व्यवस्था गरिनुपर्छ ।
अन्त्यमा विजयपुर क्षेत्र केवल धार्मिक स्थल होइन, यो इतिहास, परम्परा र संस्कृतिको संगम हो । यदि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर यी स्थलहरूको संरक्षण र प्रर्वद्धन गर्न सफल भए, कोशी प्रदेशको पर्यटन वर्ष २०८२ मात्र होइन, सिङ्गो देशकै धार्मिक पर्यटन क्षेत्रको इतिहासमा विजयपुर एक अनुपम गन्तव्यका रूपमा स्थापित हुनसक्छ ।

