विराटनगर । कोशी प्रदेशमा पंगास जातको माछापालनप्रति किसानहरु आकर्षित हुन थालेका छन् । पंगास माछापालन गर्ने क्षेत्र अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले वृद्धि भएको छ । क्षेत्रवृद्धिसँगै उत्पादन पनि बढेको छ । प्रदेशको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ७७.७६ हेक्टरमा सीमित पंगास पालन आर्थिक वर्ष २०८१÷८२ मा विस्तार भई ११०.३२ हेक्टर पुगेको छ । अन्य जातको माछाको तुलनामा पंगास माछाको वृद्धि छिटो हुने र बढी घनत्वमा उत्पादन लिन सकिने भएकोले यसप्रति किसानहरु आकर्षित हुन थालेका हुन् ।

उत्पादनको हिसाबले पनि पंगासले राम्रो प्रतिफल दिइरहेको छ । दुई वर्षअघि २ हजार ३ सय ६६ मेट्रिक टन उत्पादन भएकोमा गतवर्ष ३० प्रतिशतले बढेर ३ हजार ४०० मेट्रिक टन पुगेको छ । बजारमा उच्च माग रहेको र प्रतिहेक्टर ३० टनसम्म उत्पादन लिन सकिने भएकाले किसानहरु यसप्रति उत्साहित देखिएका हुन् ।

पंगास माछाबाट बढी उत्पादन लिन सकिने भए पनि यसका लागि आवश्यक पर्ने दानाको सहज उपलब्धता नहुँदा किसानहरु समस्यामा छन् । पंगास जातको माछालाई उच्च प्रोटिनयुक्त आहारा आवश्यक पर्ने भएकोले नेपालमा त्यसको आवश्यकता परिपूर्ति गर्ने गरी दाना उत्पादन नहुँदा भारतमा निर्भर हुनुपरिरहेको कोशी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरकी मत्स्य विकास अधिकृत पार्वती लिम्बूले जानकारी दिइन् । उनका अनुसार पंगास जातको माछा मांसाहारी प्रजातिको भएको र उच्च प्रोटिन आवश्यक पर्ने भएकोले पानीमा तैरिने (फ्लोटिङ) दाना दिनुपर्ने हुन्छ ।

पर्याप्त दाना खान नपाएमा पंगास जातको माछाले एक आपसमा टोकेर घाइते हुने र मर्ने क्रम बढ्ने भएकाले यो माछापालन महंगो हुने उनको भनाइ छ । यद्यपि बढी घनत्वमा पाल्न सकिने, छिटो बढ्ने तथा बढी उत्पादन लिन सकिने भएकाले किसानलाई फाइदा पनि छ ।

एकातिर पंगासपालन फस्टाइरहँदा प्रदेशमा परम्परागत रूपमा हुँदै आएको कार्प जातको माछापालन भने केही खुम्चिएको छ । दुई वर्षअघि प्रदेशका ११ हजार ५१ वटा पोखरीमा कार्प जातका माछापालन हुने गरेकोमा एक वर्षको अवधिमा यो संख्या घटेर १० हजार ९ सय ६३ मा झरेको छ । यद्यपि, पोखरी संख्या घटे पनि उत्पादन भने १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तथ्यांक अनुसार दुई वर्षअघि ९ हजार ३७७ मेट्रिक टन कार्प माछा उत्पादन भएकोमा गतवर्ष बढेर ११ हजार ६७ मेट्रिक टन पुगेको छ ।

त्यसैगरी, पहाडी क्षेत्रमा हुने रेम्बो ट्राउट माछापालनमा पनि भारी गिरावट आएको छ । एक वर्षको अवधिमा ट्राउट फार्मको संख्या ४३ बाट घटेर २९ मा सीमित भएको छ ।

समग्रमा प्रदेशको माछा उत्पादन स्थिर देखिए पनि आत्मनिर्भर हुने अवस्था भने छैन । निर्देशनालयका अनुसार प्रदेशमा प्रतिव्यक्ति वार्षिक माछाको आवश्यकता २०.५ किलोग्राम छ भने उपलब्धता २.२६ किलोग्राम मात्रै छ । यो खाडल पुर्न भारतीय सीमावर्ती क्षेत्रबाट चोरी तस्करी गरी माछा आयात हुने गरेको छ । तर, माछाको भुरा उत्पादनमा भने प्रदेश करिब आत्मनिर्भर देखिएको छ । कोशी प्रदेशमा २८ वटा भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालनमा छन् । यस्तै ३८ वटा नर्सरीमा भुरा हुर्काउने गरिएको छ । प्रदेशमा मत्स्य दाना उद्योगको संख्या ३ वटा मात्र छन् । प्रदेशमा जिउँदो माछा बिक्री गर्ने पसलहरुको संख्या ३३ वटाबाट बढेर ६५ वटा पुगेको छ ।