तीन वर्षपछि दोहोरियो लम्पी स्कीनको प्रकोप

विराटनगर । कोशी प्रदेशमा २०७९ सालको फागुनदेखि २०८० साउनसम्ममा लम्पि स्किन रोगले ९ हजार ४२१ वटा गाई, गोरी तथा राँगा भैंसी (पशुचौपाया) मरे । त्यसबेला सबैभन्दा बढी प्रभावित जिल्ला इलाम थियो । इलाममा त्यसबेला २ हजार १६० वटा पशु चोपायाको मृत्यु भयो । यस्तै दोस्रो नम्बरमा रहेको झापामा २ हजार ८४ पशुचौपाया मरेका थिए । त्यसबेला प्रदेशका २ लाख ८१ हजार ५४९ पशुचौपाया प्रभावित बनेका थिए ।

त्यो प्रकोप फेरि आउन नदिन आर्थिक वर्ष २०८०-८१ मा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले लम्पिस्किनका विरुद्धमा खोप अभियान चलाए । सो खोप अभियान चलाएकै कारण गत वर्ष लम्पि स्किनको समस्या देखिएन ।
तर, यो वर्ष फेरि लम्पि स्किनको प्रकोप देखिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आइतबारसम्ममा प्रदेशमा लम्पिस्किनका कारण ६३७ वटा पशुचौपाया मरिसकेका छन् भने २२ हजार १२२ प्रभावित छन् । यस पटक सबैभन्दा बढी प्रभावित जिल्ला झापा छ । झापामा हालसम्म ४१० वटा पशुचौपायाको मृत्यु भइसकेको छ भने १४ हजार ६९२ वटा प्रभावित छन् ।

यसपछि मोरङ, इलाम, सुनसरी जिल्ला बढी प्रभावित छन् । फाट्ट फुट्ट ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र उदयपुरमा देखिएको छ । तीन जिल्ला संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु भने लम्बिस्किनबाट हालसम्म मुक्त छ ।
तीन वर्ष अगाडि प्रकोपको रुपमा आएको लम्पिस्किनका विरुद्धमा नियमित खोप कार्यक्रम संचालन गर्न नसक्दा पुनः यस पटक किसानले क्षति व्यहोर्नु परेको छ । यसमा संघ, प्रदेश र स्थानीय सरकारहरु नै चुकेको देखिएको छ । ‘दुई वर्षअघि खोप लगाएका पशुहरूमा यो रोग देखिएको छैन । संक्रमण मुख्यतः खोप लगाउन छुटेका पशुहरूमा देखिएको छ,’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले भनिन् । उनले लम्पिस्किन रोगलाई राष्ट्रिय खोपमा समावेश नगरिँदा यो समस्या पुनः बल्झिएको बताइन् । ‘लम्पी स्कीनको खोप राष्ट्रिय खोप अभियानअन्तर्गत पर्दैन । जसकारण खोरेंत वा पिपिआर जस्तो वर्षेनी नियमित रूपमा खोप लगाउने कार्यक्रम र खोप लगाउने प्राविधिकलाई दिइने पारिश्रमिकको व्यवस्था छैन,’ उनले भनिन्, ‘यही कारणले रोग देखा परेपछि मात्र खोपको माग ह्वात्तै बढ्ने तर रोकथामका लागि पहिले नै लगाउने प्रवृत्ति कम छ । यो नै समस्या दोहोरिनुको मुख्य कारण हो ।’

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका बरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले पनि समयमै खोप कार्यक्रम सञ्चालन नहुनु र रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनु नै प्रकोप फैलिनुको मुख्य कारण रहेको बताए । ‘लम्पी स्कीन अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा नपर्दा यसको नियमित र तालिकाबद्ध खोप हुन सकेको छैन,’ डा. यादवले भने, ‘गत वर्ष पालिकाहरूले आफ्नै स्रोतबाट खोप लगाउँदा रोग नियन्त्रणमा थियो, तर यो वर्ष त्यसो नहुँदा र नीतिगत कमजोरीले गर्दा प्रकोप फैलिएको हो ।’

प्रदेशमा रोग नियन्त्रणका लागि खोपको अभाव पनि रहेको उनले बताए । प्रदेशको पशु संख्याको आधारमा कम्तीमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेमा पशुसेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको छ । ‘लम्पी स्कीन अब नेपालमा स्थापित भइसकेको छ । त्यसैले यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरी दीर्घकालीन समाधान सम्भव छैन,’ यादवले भने ।
सरकारी खोपको अभाव भए पनि किसान आफैँले बजारबाट खोप खरिद गरेर लगाउन सक्ने अवस्था भने रहेको डा. यादव बताउँछन् । सरकारले प्रतिडोज २४ रुपैयाँमा खरिद गर्ने यो खोप बजारमा किसानले ५० देखि ६५ रुपैयाँसम्म तिर्नुपर्छ । प्राविधिक शुल्कसहित किसानले प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च गरेर खोप लगाउन बाध्य छन् । ‘यदि सरकारी खोपको प्रतीक्षा गर्न नसक्ने अवस्था भएमा किसानले बजारबाट खोप खरिद गरी प्राविधिक बोलाएर लगाउन सक्नुहुन्छ । यसो गर्दा प्राविधिक शुल्कसहित प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च लाग्न सक्छ,’ यादवले भने ।

प्रदेशस्तरमा यो कार्यक्रमलाई लागू गर्न भने नसकिने होइन । केही समय अगाडि प्रदेशसभामा बोल्दै सांसद सपना दर्जीलगायतले लम्पि स्किन रोगको विषयमा सरकार गम्भीर हुनुपर्ने र नियन्त्रणको लागि खोप अभियान चलाउनु पर्ने माग गरेकी थिइन् ।
यसरी प्रदेशले नै खोप अभियान चलाउन कम्तीमा २ करोड रुपैयाँ बजेट थप आवश्यक पर्ने डा. यादवको भनाइ छ । लम्पी स्कीन भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । रोग लागिसकेका पशुलाई खोप लगाउनु प्रभावकारी नहुने र उल्टै असर गर्ने विज्ञहरू बताउँछन् । यसका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, शरीरमा कडा गिर्खाहरू देखिनु, दूध घट्नु र गर्भ तुहिनु हुन् ।

डा. यादवले किसानहरूलाई आफ्नो गोठ सफा राख्न, नयाँ पशु ल्याउँदा क्वारेन्टाइनमा राख्न, झिंगा र लामखुट्टेबाट बचाउन र रोगको सिजन सुरु हुनुअघि नै (फागुन–चैतमा) खोप लगाउन सुझाव दिएका छन् । दीर्घकालीन समाधानका लागि यो रोगलाई तत्काल राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी देशव्यापी अभियान चलाउनुको विकल्प नभएको उनको जोड छ ।
उनका अनुसार यो रोग लागिसकेपछि खोप लगाउनु भने प्रभावकारी हुँदैन, उल्टै त्यसले रोग बढाउन सक्छ । यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । लक्षणअनुसारको उपचार गर्नुपर्छ ।

साउन २१, २०८२, दिउँसोको १२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर