विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कोशी प्रदेशबाट ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रदेशभरिबाट परीक्षामा सामेल भएकामध्ये ६२ हजार १४१ जना विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशीले जनाएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अनुसार, ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ३९९ रहेको छ । त्यसैगरी, ३.२१ देखि ३.६० जीपीए ल्याउने ८ हजार १५ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने १४ हजार ६०४ जना, र २.४१ देखि २.८० जीपीए ल्याउने ११ हजार ३२६ जना रहेका छन् । यस्तै, २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने १ हजार ८१० जना र १.६१ देखि २ जीपीए ल्याउने ८ जना विद्यार्थी छन् ।

यस वर्षको परीक्षामा कोशी प्रदेशबाट कुल २४ हजार ९७९ जना विद्यार्थी अनुत्तीर्ण (एनजी) भएका छन् । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशीले १० जिल्ला हेर्ने गर्दछ । कार्यालयका निर्देशक दामोदर चापागाईंका अनुसार, यस वर्ष कोशी प्रदेशका १० जिल्लाबाट ७१ हजार ९५७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ५३ हजार ९५० जना नियमित र १८ हजार ७ जना ग्रेडवृद्धिका लागि सामेल भएका थिए । परीक्षा सञ्चालनका लागि १० जिल्लामा २१७ वटा परीक्षा केन्द्र तोकिएको थियो ।कोशी प्रदेशमा हाल सामुदायिकतर्फ ४९२, संस्थागत (निजी) तर्फ २६४ र कलेजतर्फ १८ गरी जम्मा ७७४ शिक्षण संस्थामा कक्षा १२ सम्मको पढाइ सञ्चालनमा रहेको छ ।