विराटनगर । मोरङको कानेपोखरी–६ रमाइलो बजारबीचमा रहेको एउटा बन्द सटर अगाडि सँधैजसो देखिने ८३ वर्षीय चक्रबहादुर गुरुङ अहिले देखिन्नन् । सरकारले दिएको सामाजिक सुरक्षा भत्ता र जीवनभरको कमाइले जोडेको जमिन बेचेको ९ लाख रुपैयाँ सटरभित्रको ‘सुन पसल’मा जम्मा गरेका उनी पैसा फिर्ता पाउने प्रतिक्षामा हरेक दिन पसल अगाडि पुग्थे ।
पैसा फिर्ता पाउने गुरुङको प्रतिक्षा पुरा भएन । बरु पैसा फिर्ता नपाई उनको निधन भयो । सुन पसल सञ्चालक मनोज अधिकारी र उनका बुबा होमनाथ अधिकारी फरार रहेपनि परिवारका सदस्यहरु घरमै थिए । तर, उनीहरुले पनि गुरुङको पिडा अनुभूति गर्ने प्रयास गरेनन् ।
चक्रबहादुरजस्ता पीडितको बचतले अधिकारी परिवार भरिपूर्ण नै थियो । उनीजस्तै बचत डुबेका २५० भन्दा बढी सर्वसाधारण अहिले पनि सुन पसलमा दिएको बचत फिर्ताको प्रतिक्षमा छन् । उनीहरु कहिले अधिकारीको घर घेर्छन्, कहिले पालिकाको ढोका ढकढक्याउँदै, त कहिले प्रहरी र वकिलसँग न्यायको भिख माग्दै पुगेका छन् ।
उनीहरूको एउटै प्रश्न छ ‘पसिनाको कमाइ कहिले फिर्ता आउँछ ?’ पैसा फिर्ता नभएको चिन्ताकै कारण चक्रबहादुरको निधन भएको स्थानीय भक्तिमाया गुरुङ बताउँछिन् । ‘हामीले पैसा डुब्यो भनेको चार दिनमा उहाँ बित्नुभयो’ उनले भनिन् ।
कुनैबेला रमाइलो बजारमा स्थापित र विश्वासिलो थियो, अधिकारी परिवारको सुन पसल । त्यहि जनविश्वासको आडमा अधिकारीले गैरकानुनी रुपमा बचत संकलन गरेका थिए । अधिकारी परिवारले नै मिलेर गैरकानूनी ढंगले रकम उठाएर करिब १२ करोड रुपैयाँको ठगी गरेको स्थानीय बताउँछन् ।
अधिकारी परिवारले बैंकभन्दा बढी ब्याज दिने, चाहेको बेला तुरुन्तै पैसा झिक्न सकिने र घरदैलोमै आएर बचत सङ्कलन गर्ने गरेको थियो । सर्वसाधारण उनको आकर्षक प्रलोभनमा फसेर रकम जम्मा गर्नथाले । सुरुमा बचतकर्ताहरूलाई अधिकारी सुनचाँदी पसल भने पासबुक दिएर रकम जम्मा गरिएको भएपनि पछि त्यो पासबुक फिर्ता लिएर सामान्य डायरीमा लेखेको पाइएको छ ।
पीडित उमेश विष्टका अनुसार मुद्दा नलागोस् भनेर यस्तो खेल खेलेको रहेछ । ‘तर, कसैले शंका गरेनन्’ उनी भन्छन् । अधिकारीको ठगीमा दैनिक मजदुरी गर्नेदेखि स्थानीय व्यवसायी पनि परेका छन् । स्थानीय विष्णुमाया गिरी र उनका आफन्तहरूको करिब ३० लाख रुपैयाँ ठगी भएको छ ।
‘दुःख गरेर कमाएको पैसा ठगी भयो,’ गहभरि आँसु पार्दै विष्णुमाया भन्छिन्, ‘खाता हेर्दा रुन मन लाग्छ । छोराछोरीको भविष्यका लागि बालबचत गरेकोमा ठगियो ।’ उनको समूहमा रहेको २६ लाख रुपैयाँ १५ महिनाका लागि १५ प्रतिशत ब्याजमा फिक्स डिपोजिट गरिएको थियो भने बाँकी रकम चल्ती खातामा थियो । तर, एक रुपैयाँ पनि फिर्ता पाइनन् ।
अर्का पीडित पर्शुराम फुयाँलले आफ्नो ९ लाख २० हजार रुपैयाँ डुबेको जानकारी दिए । स्थानीय ऋषिकेश लम्सालको पनि रकम डुबेको छ । ‘मेरो मात्र हैन, करिब २५० जनाको १ हजारदेखि ७० लाखसम्म सुन पसलले खाएको छ’ लम्सालले भने, ‘अनुमानित १२ करोड भनिएको छ । यकिन विवरण छैन ।’
गत दशैंको समयमा मनोज अधिकारी एकाएक बेपत्ता भए । उनका आमाबुबा अमेरिकामा थिए । पीडितहरूले आफ्नो पैसा फिर्ता माग्न थालेपछि मनोज भागेको थाहा पाए । केही समयपछि मनोजकी आमा बाटुलादेवी अधिकारी नेपाल फर्किएकोमा पीडितहरूले उनलाई घेरा हाले र वडा कार्यालयको रोहबरमा एउटा कागज गराए । जसमा उनले आफ्नो सम्पत्तिबाट ऋण तिर्ने बाचा गरेकी थिइन् ।
पीडितहरुले गरेको त्यो कागज पनि उनीहरुसँग छैन । उक्त कागज नेकपा एमालेका नेतासमेत रहेका हाल भूमिसुधार आयोग मोरङ अध्यक्ष नवीन पौडेलले राखेका छन् । मनोजका परिवारले विभिन्न बहाना बनाएर रकम नदिएको पीडितहरु बताउँछन् । अहिले मनोजकी आमाले ‘मैले खाएको होइन, म जान्दिनँ’ भन्न थालेको र बुहारी स्मिता अधिकारीले पनि आफूलाई केही थाहा नभएको बताउन थालेको पीडितहरु बताउँछन् ।
वडा कार्यालय नगरपालिकाको न्यायिक समितिदेखि प्रहरी प्रशासनसम्म धाउँदा पनि पीडितहरूले न्याय पाउन सकेका छैनन् । उनीहरूलाई एक निकायले अर्कोमा र अर्कोले अर्कोमा पठाएर झुलाउने काम मात्र भइरहेको छ । ‘हामीले आफ्नो पसिनाको कमाइ मागेको हो,’ पीडित लम्सालले भने, ‘तर हामीलाई सुन्ने कोही भएन ।’
पीडितहरु सामूहिक रूपमा प्रहरीमा जाहेरी दिने र कानुनी लडाइँ लड्ने तयारीमा छन् । तर, यो लामो र खर्चिलो प्रक्रियाले उनीहरूलाई थप निरुत्साहित बनाएको छ ।
मनोज अधिकारीको ठगी प्रकरण रमाइलो बजारको नरमाइलो कथा बनेको छ । यस विषयमा कानेपोखरी गाउँपालिकाको न्यायीक समितिमा पनि पीडितहरुले निवेदन दिएका हुन् । ‘न्यायीक समितिले निवेदनको किनारा लगाउन पनि सकेन र फलानो ठाउँ जानु पनि भनेन,’ पीडित भपर्शुराम फुयाँलले भने, ‘हामीलाई ठीक ढंगले यहाँ जाउ भनेको भए हामी जान्थ्यौं ।’
गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भने आफू पनि पीडितको साथमा जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म पुगेको बताएका छन् । ‘ठगी मुद्दा हेर्ने कार्यक्षेत्र पालिकाको न्यायीक समितिको होइन, प्रहरीकोमा जानु भनेर स्पष्ट भनेका छौं,’ उनले भने, ‘बरु उहाँहरु नै गर्ने कि नगर्ने भन्ने दोधारमा भएको कारण समस्या आएको हो ।’
होमनाथ अधिकारी र बाटुलीदेवी अधिकारीका दुई छोरामध्ये मनोज कान्छा हुन् । जेठो छोरा ध्रुव अधिकारी र उनकी श्रीमती ममता अमेरिका बस्दै आएका छन् । कान्छो छोरा मनोज अधिकारी र उनकी श्रीमती स्मिता यतै बस्थे ।
होमनाथ र बाटुलीदेवी अधिकारीको नाममा कानेपोखरी ६ रमाइलो बजारमा ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी’ २० वर्ष अगाडिदेखि सञ्चालित थियो । मनोज र स्मिता १२ बर्षदेखि उक्त व्यवसायमा थिए । सुनचाँदी धितो राखी रकम दिने, महँगो दरमा व्याज असुल गर्ने, सुनचाँदीका गरगहनाहरु बनाउने, मनि ट्रान्सफर सञ्चालन गर्ने र बचत गर्ने काम उनीहरुले गर्दै आएका थिए ।
बचत गरेको रकम पासबुकमा होमनाथ अधिकारी, मनोज अधिकारी र स्मीता अधिकारीले दस्तखत गरेर पीडितलाई दिने गर्दथे । पीडितहरुले ठगी भएको रकम हुण्डीमार्फत अमिेरिका पुर्याएको हुनसक्ने आशंका गरेका छन् । यस्तै, माईती र छोरी ज्वाईको नाममा समेत घरजग्गा खरिद गरेको पीडितहरु दाबी गर्छन् ।
पीडितहरुले रकम माग्न थालेपछि होमनाथ अधिकारी अमेरिका गएर फर्किएका छैनन् । बाटुलीमाया भने रमाइलो बजारमा रहेको घरमै छिन् । छोरा मनोज अधिकारी असारमा बिरामी भएको भन्दै उपचार गर्न जाने बहानामा फरार छन् ।

