विराटनगर । उमेर असी पुगेर बसी खाने । तर घरले जा जा र छोराले आइज आइज भन्ने उमेरमा पनि विराटनगरका ७८ वर्षीय हरिबहादुर कार्कीले अझै जाँगरिलो बनेर साइकल मर्मत गरेर परिवार पालिरहेका छन् । २००४ सालमा बर्मामा जन्मिएर २०१४ सालमा नेपाल आएका उनले २०२७ सालमा २३ वर्षे उमेरदेखि साइकल मर्मत गर्न थालेका हुन् । सामान्य बाह्र कक्षा मात्र चिनेका हरिबहादुरले साइकल मर्मत गर्न थालेको पनि ठ्याक्कै ५५ वर्ष पुगेको छ ।
विराटनगर महानगरपालिका–८ मानगढमा छ हरिबहादुरको आफ्नै सानो घर । त्यही घरको सानो आँगनमा छ उनको आफ्नै साइकल मर्मत पसल । महानगर भनेपनि गाउँकै झल्को दिन्छ उनको टोलले । असी पुगेर बसी खाने उमेरका वृद्ध हरिबहादुर अझै थाकेका छैनन् । उनी आउने जति सबैको साइकल मस्तले गफिँदै रमाएर मर्मत गरिदिन्छन्, अनि स्वच्छाले दिएको दाम थापेर मख्ख पर्छन् । बसी खाने उमेरमा पनि हरिबहादुर आफ्नै घरमा साइकल मर्मत गरेर दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
हरिबहादुरले साइकल मर्मत गरेरै चार छोरी र दुई छोराको विवाह गरिदिए । पहिले मोरङ दर्वेसाका बासिन्दा उनी २०४३ सालदेखि चाहिँ विराटनगर ३ मानगढ टोलमा बस्दै आएका छन् । उनका दुई छोरा वैदेशिक रोजगारमा छन् । चार छोरी र ज्वाइँहरू पनि राम्रै आम्दानी गर्छन्। १० जना नातिनातिनादेखि पनाति पनातिनीका हजुरबा भइसकेका वृद्ध हरिबहादुरलाई परिवारले मनाही गरेपनि आफूले गर्दै आएको साइकल मर्मत गर्ने पेशा उनले छाड्न मानेका छैनन् । वृद्ध उमेरमा पनि आफू स्वस्थ रहेको र आरामले अझै दश वर्षसम्म साइकल मर्मत गर्ने जाँगर भएको हाँक दिँदै क्रान्तिकारी मेकानिक हरिबहादुर भन्छन्– ‘गरेर खाऊँ के को लाज ? शरीरले स्वस्थ छु, यति नाथे आरामको काम गरेर खान मलाई कुनै गाह्रो छैन, किन छाड्नु ?’
तत्कालीन दर्वेशा पञ्चायतमा दोस्रो विश्वयुद्धपछि २०१४ सालमै बर्माबाट आएर सपरिवार बसेका थिए उनका बाबु निमबहादुर कार्की। त्यो बेला सरकारले उजाड लाग्ने जङ्गल भएको दर्वेशामा २२ बिघा बाँझो खेत दिइएको थियो बर्मेली बाबु निमबहादुरलाई। तर उब्जनी पटक्कै हुँदैनथ्यो । यसैले परिवारलाई खान लगाउन धौ धौ पर्दथ्यो । पाँच भाइमध्येका एक छोरा हरिबहादुरले साइकल बनाउने मेकानिकको काम सिके । अनि कृषि कर्मसँगै गाउँमै साइकल मर्मतमा रमाए । उनी दर्वेशा गाउँमा क्रान्तिकारी मेकानिक भनेर पनि चिनिए । यस अर्थमा कि उनले आफूले नपढे पनि गाउँमा घडी, रेडियोदेखि साइकल, तालाचाबी, पम्प सेट, मिलका पाटपुर्जा आदि सबै मर्मत गरे । यति मात्र होइन उनले केही वर्ष गाउँमा दर्जीसँगै बसेर लुगा पनि सिलाए । विश्वकर्मासँगै बसेर फलाममा फलाम गलाएर औजार पनि बनाए । त्यो बेलाको तीतो अनुभव सुनाउँदै क्रान्तिकारी मेकानिक हरिबहादुर भन्छन्– ‘हैट ! फलाममा फलामको काम गर्दा र लुगा सिउँदा त अछुत भनेर समाजले बहिष्कार नै गर्यो, पण्डित पनि पूजा लगाउन आएनन् ।’
‘देख–असेखी गरेर खानु, नारी से जति मरी जानु’, यसै भन्थे क्रान्तिकारी श्रमजीवी हरिबहादुर । यसैले जसले जे भने पनि उनले आफ्नो कर्म छाडेनन् । लुगा सिउने काममा भने उनले जिउ दुखेर केही बर्षपछि छाडिदिए । ‘एकोहोरो बसेर काम गर्दा जिउ असाध्यै दुख्दो रहेछ, यसैले धेरै वर्ष लुगा सिउन सक्दै सकिनँ’, हरिबहादुरले आफ्नो तीतो बिगत सुनाए । फलाममा भने उनलाई सानो जातको गाह्रो पेशा भनेर घर परिवारले नै धेरै दिन काम गर्न दिएन ।
त्यो बेला कोही पनि पहाडेले साइकल बनाउँदैनथे । मेकानिकहरू सबै तराई मधेशतिरकै हुन्थे । अझ सीमा क्षेत्र भएकोले भारतीयहरू नै धेरै हुन्थे । कसैको पर्वाह नगरी साइकल मर्मत गर्न लागिपरेका हरिबहादुरलाई धेरैले ‘थुक्क ! पहाडे भएर पनि यस्तो काम गरेको ? लाखेस ! तेरा घरमा छोराछोरीको बिहे हुँदैनन् नि फेरि’ भनेर पनि धिक्कारे । तर कर्मवीर हरिबहादुर गाउँलेका कुरा एक कानले सुनेर अर्कोले उडाइदिन्थे ।
आजकल समय फेरिएको छ । पहिले ‘पहाडेले पनि राम्रो साइकल बनाउन जान्दछ र ?’ भन्दै खिसी गर्ने मेकानिकहरू अहिले सिटी रिक्शामा साइकल लोड गरेर ‘तपाईँले बनाएको पक्का हुन्छ’ भन्दै घरमा छाडेर जाने गरेका छन् । आफ्नो मेकानिक सीपप्रति गर्व गर्दै कर्मवीर हरिबहादुर भन्छन्– ‘मलाई धेरै कमाउनु छैन, कमाइन पनि, तर टाढा टाढादेखि मेकानिकहरूले साइकल ल्याएर बनाउन दिँदा आफ्नो सीपमा सफल भएँछु भन्ने लाग्छ ।’
साइकल बनाउन मात्र जान्दैनन् हरिबहादुर, ठूला र हलुका सवारी पनि कुदाउँछन् । तर ड्राइभर भएर पनि उनले साइकल मर्मत गर्न भने छाडेनन् । दर्वेसामा अंशमा पाएको छ बिघा खेत जीविकोपार्जनमै खर्चेका हरिबहादुरले साइकल मर्मत गरेर पैसा न कमाए पनि आफ्नो निष्ठा भने जीवित राखेका छन् । शरीरले वृद्ध तर जाँगरले जोशीला मेकानिक हरिबहादुर भन्छन्– ‘मैले गरेर खान सकिनँ भनेर कसैसँग माग्दै पनि हिंड्नुपरेन, आफ्नै पौरखले जति कमाएको छु, ढुक्कले खाएर परिवारलाई पनि खुवाइरहेको छु ।’

