
डा. बालकृष्ण साह
शिक्षा, विशेष गरी चिकित्सा शिक्षा, केवल डिग्री वा प्रमाणपत्रको विषय होइन । यो चेतना र सामाजिक जिम्मेवारीको निर्माण पनि हो । समाजको पीडा सुन्ने, बुझ्ने र त्यसलाई मलम लगाउने संवेदनशील प्रतिभा उत्पादन गर्ने प्रक्रिया हो । यस्ता प्रक्रियाहरू त्यही ठाउँमा स्थापित हुनु आवश्यक हुन्छ, जहाँ अझ धेरै आवश्यकता छ, जहाँ बिरामी छन्, जहाँ अभाव छ, जहाँ भित्रभित्रै बाँच्ने संघर्ष जारी छ ।
पूर्वाञ्चल विश्वविद्यालय, नेपालको पूर्वी भाग (कोशी प्रदेश) मा स्थापित एक प्रतिष्ठित शैक्षिक संस्था हो । ईन्जियरिङ्ग, व्यवस्थापन, कानुन, आईटि लगायत विभिन्न विधाहरुमा स्नातक र स्नाकत्तोतर अध्यापनमा स्थापित यो विश्वविद्यालय नयाँ होईन । यति मात्र होइन, नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी लगायतका स्वास्थ्यका पनि विभिन्न शैक्षिक कार्यक्रमहरू संचालनमा छन् । ब्याचलरदेखि मास्टर्स तहसम्मका विद्यार्थीहरू आफ्नै कलेजमा बिगत लामो समय देखि सञ्चालन गर्दै आएका छन् । तर गुमनाम छ यहाँको शिक्षण अस्पताल र मेडिकल कलेज । हुनत दैनिक चार सयभन्दा बढी बिरामी यहाँको शिक्षण अस्पतालमा ओपिडि सेवाका लागि आउँछन् । हरेक विभागका ओपिडिमा बिशेषज्ञ सेवा उपलब्ध छ । र अस्पतालमा ओपिडि सेवा मात्र उपलब्ध छैन, शल्यक्रियाहरू समेत हुन्छन् । २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध छ, जहाँ १२ वटा शैया सञ्चालनमा छन् । मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, मानसिक रोग, छालासम्बन्धी र नाक कान घाटि सेवाका लागि वार्ड समेत सञ्चालन गरिएका छन् । जुनसुकै कोणबाट हेर्दा पनि यो अस्पताल, यो संस्था, शिक्षण अस्पतालको परिभाषाभित्र पूर्ण रूपमा अटेको देखिन्छन् ।
चिकित्साशाष्त्रका आधारभुत विज्ञानका बिषयहरु एनाटोमी, फिजियोलोजी जस्ता विभागहरु अनि त्यसका प्रयोगशालाहरू निर्माण भइसकेका छन् । पुस्तकालय, होस्टल, हल लगायतका सफा र सुविधा सम्पन्न भवनहरू सबै विश्वविद्यालयकै स्वामित्वमा छन् । हरेक विभागमा आवश्यक जनशक्तिहरु नियुक्त भएर कामकाजमा खटिएका छन् । यति धेरै भौतिक र मानव स्रोतको सुदृढता, चिकित्सा शिक्षा शुरु गर्न कति सहज बाटो होला भन्ने कुराको प्रमाण हो । तर विडम्बना, यहाँ एमबिबिएस अध्ययन कार्यक्रम अझै सुरु भएको छैन ।
यो प्रश्न एउटै हो, तर एक जनाको मात्र होईन । दर्जनौँ विद्यार्थी, चिकित्साशास्त्र पढ्ने सपना बोकेका किशोर–किशोरी, यहाँ कार्यरत कर्मचारी, शिक्षक, र यस क्षेत्रमा रहेका आम नागरिकको साझा आवाज हो । “किन सुरु भएन त एमबिबिएस ?” शैक्षिक पूर्वाधार जति बलियो हुदै गयो, प्रश्न त्यति नै स्पष्ट हुन थालेको छ । अब त सुरु हुनु पर्ने हो नि ! यस्तो संस्थामा, यस्तो अस्पतालमा, यस्तो समर्पणमा, अझ कति कुर्नु बाँकी छ ?
उत्तर खोज्ने हो भने अब धेरै बाँकी छ जस्तो देखिदैन । चिकित्सा शिक्षा आयोगले तोकेका मापदण्डअनुसार आवश्यक पूर्वाधारहरू तयार गरिएका छन् । विभागिय शिक्षक मण्डली (फ्याकल्टि) नियुक्त भइसकेका छन् । क्लिनिकल विशेषज्ञहरू नियमित रूपमा कार्यरत छन् । आयोगले पनि निरीक्षण प्रक्रिया सुरु गरिसकेको छ । आयोगका अधिकारीहरूले भौतिक संरचना, सेवाको दायरा, शैक्षिक वातावरण, पाठ्यक्रमअनुरूपको अभ्यासको सम्भाव्यता जाँचिरहेका छन् । यता विश्वविद्यालयका उपकुलपति, रजिष्टार, मेडिकल डीन, अस्पतालका निर्देशक, चिकित्सकहरू, प्रशासन, र सम्पूर्ण कर्मचारीहरू दिनरात नभनी तयारीमा खटिएका छन् । कतिपय त व्यक्तिगत सन्दर्भलाई पनि थाती राखेर यो अभियानमा होमिएका छन् । यो सपना अब केवल संस्थाको मात्र नभई, यो सपना पूर्वाञ्चलकै भएको छ । यो सपना हरेक नेपालीको हो जसले आफ्ना छोराछोरीलाई डाक्टर बनाउने आकांक्षा बोकेका छन् तर निजि मेडिकल कलेज वा विदेश पठाउने सामथ्र्य राखेका छैनन् ।
एमबिबिएस कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयमा सुरु हुनु केवल डिग्री दिने कुरा मात्र होइन । त्यो पूर्वाञ्चलको सामाजिक पुनर्जागरण हो । त्यो यस क्षेत्रको आर्थिक सशक्तिकरण हो । एमबिबिएस सुरु भएपछि स्थानीयस्तरमै स्वास्थ्यकर्मी उत्पादन हुनेछन् । उनीहरूले आफ्नै समुदायको सेवा गर्नेछन् । यसले बिरामीको उपचारको खर्च घटाउनेछ । गाउँ–गाउँमा डाक्टर पुग्ने सम्भावना बढ्नेछ । अनि, यो कार्यक्रमले प्रत्यक्ष रूपमा नयाँ रोजगारी सिर्जना गर्नेछ । शिक्षण अस्पताल विस्तार हुनाले चिकित्सक, नर्स, टेक्निसियन, फार्मासिस्ट, सपोर्ट स्टाफ, शिक्षण सहायकदेखि प्रशासनिक जनशक्ति समेतको माग बढ्नेछ । यससँगै सम्बन्धित क्षेत्र औषधि आपूर्ति, मेडिकल उपकरण, यातायात, होस्टल, खाजा घर, स्टेशनरी, आदि सबैले फाइदा पाउनेछन् । यसले स्थानीय व्यापारी, लगानीकर्ता, स्वयंसेवी संस्था, सञ्चारमाध्यमहरू सबैलाई सँगै स्तरबृद्धि गर्नेछ ।
तर आशा मात्रले पुग्दैन । अब आवश्यक छ, नीतिगत संकल्प । चिकित्सा शिक्षा आयोगले प्रक्रिया टुंग्याएर पूर्वाञ्चल विश्वविद्यालयलाई एमबिबिएस कार्यक्रम संचालन गर्न अनुमति दिनुपर्छ । संस्थागत रूपमा सुसज्जित, सेवामूलक, जन–मैत्री र समर्पित विश्वविद्यालयलाई बाटो खोलिदिनु पर्छ । ढिला हुनुले हामीले प्रतिभा पलायन मात्र होइन, स्वास्थ्य असमानतालाई अझ संस्थागत बनाउने जोखिम बढ्ने हुन्छ । पछिल्लो समय चिकित्सा शिक्षा नाफा केन्द्रित बन्दै गएको छ । निजी मेडिकल कलेजहरूमा पढ्न मध्यम वर्गीय परिवारहरुले ऋणको भारी बोक्नु पर्ने बाध्यता हुन्छ । यस अवस्थामा पूर्वाञ्चल विश्वविद्यालय एउटा राम्रो विकल्प हुन सक्छ । जसले गुणस्तरीय शिक्षा मात्र होइन, सेवा र नैतिकता पनि साथमा दिन सक्छ । आज छरपस्ट भएर गन्तव्य खोजिरहेका सयौँ सपना, यही विश्वविद्यालयको परिसरमा आश्रय पाउन सक्छन् । यहाँबाट उत्पादन हुने चिकित्सकहरू, केवल उपचारकर्ताहरू हुँदैनन् । उनीहरू सामाजिक उत्तरदायित्वले भरिएका जनसेवक हुनेछन् ।
अब कुरा योजनाको होईन, कार्यान्वयनको हो । अभावको होईन, अनुमति र आशयको हो । अब कुरा सपना देख्नेको होइन, सपना साकार पार्ने नेतृत्वको हो । यदि हामी अझै पर्खियौं भने, इतिहासले हामीलाई क्षमा गर्ने छैन । तर यदि हामी आज निर्णायक ढंगले अगाडि बढ्यौं भने, इतिहासले हामीलाई सम्मानपूर्वक सम्झिनेछ । पूर्वाञ्चल विश्वविद्यालय तयार छ । बिरामीहरू पर्खिरहेका छन् । विद्यार्थीहरू उत्साहित छन् । शिक्षकहरू खटिएका छन् । अब समय आइसकेको छ, सपना देख्ने आँखा मात्र होइन, त्यो सपना बिउझाउने हिम्मत देखाउने मुटु पनि आवश्यक छ ।