उदयपुर । उदयपुरका आठवटै स्थानीय तहमा घरपालुवा जनवरमध्य गाई, गोरु, भैँसी र राँगामा लम्पिस्किन रोगको संक्रमण देखा परेको छ । जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका प्रमुख सुकराज लिम्बूका अनुसार गर्मीयाम सुरु भएसँगै थोरै-थोरै देखिएको लम्पिस्किन अहिले बढ्दै गएको छ ।
उनका अनुसार लम्पिस्किन भनेको एक प्रकारको क्याप्रिपक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा पनि देखिने गरेको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखा पर्ने रोग लम्किस्किन भएको लिम्बूको भनाइ छ ।
जिल्लामा हालसम्म लम्पिस्निबाट रौतामाई गाउँपाकिलामा एउटा दुधालु गाई मरेको छ । लिम्बूले हालसम्म उदयपुरमा ३६२ वटा गाईभैँसीमा लम्पिस्किनको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले भने, ‘सङ्क्रमण उदयपुरको त्रियुगा नगरपालिकामा ९७, चौदण्डीगढी नगरपालिकामा २०, बेलका नगरपालिकामा ८, कटारी नगरपालिकामा १०७, उदयपुरगढी गाउँपालिकामा ७, रौतामाई गाउँपालिकामा ४१, लिम्चुङबुङ गाउँपाकिलामा ३०, ताप्ली गाउँपाकिलामा ५२ वटा पशुमा देखा परेको छ ।
उनले विशेष गरेर गाईगोरुमा बढीमा मात्र देखा परेको बताए । उक्त तथ्यंक कार्यालयले असार २० गते तयार पारेको हो । उनले भने, ‘असारको पहिलो हप्ता १०१ पशुमा देखिएको लम्पिस्किन दोस्रो हप्ता २६१ पशुमा देखिएको थियो । अब गर्मी बढिरहेकाले अझ बढ्न सक्ने अनुमान लगाउन सकिन्छ ।’
लम्पीस्निरोग लाग्न र फैलन नदिने सबैभन्दा प्रभावकारी विधि खोप हो । जिल्लामा हालसम्म १५ हजार ४३० वटा गाईगोरु, भैँसीराँगालाई लम्पिस्किनविरुद्धको खोप पनि लगाइएको जानकारी दिए । उनले भने, ‘खोप लगाउने कार्यक्रम पनि जारी छ ।’
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका प्रमुख लिम्बूका अनुसार उदयपुरमा ८६ हजार ९६४ गाई, ३९ हजार ४०३ भैंसी, ८०८ भेडा, ३ लाख ४६ हजार ८२९ बाख्रा, ८७ हजार ७१० बंगुर, ७ लाख ६५ हजार ७५० कुखुरा र १६ हजार ५१० हाँस रहेको तथ्यांक छ ।

