कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले केन्द्रीय समितिमा राखे १८ बुँदे सुझाव

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीको केन्द्रीय समितिमा१८ बुँदे व्यापक सुझाव प्रस्तुत गरेका छन् । अनुशासनदेखि धर्म परिवर्तनसम्मका विषयमा उनले आफ्ना धारणाहरू राखेका छन् ।

केन्द्रीय सदस्य पराजुलीले कांग्रेसमा अनुशासनको कमी भएको भन्दै निर्मम ढंगले आचारसंहिताको पालना गराउन आवश्यक रहेको बताए । उनले चियापसल, चोक, बजार र संसदमा बसेर नेताहरूको विरुद्धमा बिष वमन गर्ने प्रवृत्ति बन्द गर्न आग्रह गरे ।
राजनीतिक स्थिरताको विषयमा उनले बारम्बार सरकार परिवर्तनको समस्या समाधानका लागि कांग्रेस–एमाले गठबन्धन देशकै लागि हितकर भएको बताए । तर सरकारमा रहेको ठूलो दलको रूपमा कांग्रेसले लाभभन्दा हानी बेहोर्नुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

विकास निर्माणका बजेटमा व्यक्तिगत प्रभावको आलोचना गर्दै उनले भने, ‘ एमालेका मन्त्रीहरूले आफुखुसी बजेट आफ्नो क्षेत्रमा लगेको देखिन्छ । यो रोग कांग्रेसमा पनि देखियो । ’ उनले पूर्वी क्षेत्र खासगरी मोरङमा विकासका बजेटहरू नपर्नु विडम्बनापूर्ण रहेको बताए ।

युवा पुस्तामा निरसताको बाढी आएको भन्दै पराजुलीले भने, ‘देशमा केही भएन, नेताहरूले केही गरेन्न, राज्यमा अवसर छैन भन्ने गुनासो छ ।’ उनले युवालक्षित कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताए । सूचना प्रविधिमा युवाहरूलाई समाविष्ट गर्ने र पार्टीका गतिविधिहरूलाई आधुनिक माध्यमबाट प्रचार गर्ने सुझाव दिए ।

जनसंख्या वृद्धिदरको विषयमा उनले २०७८ सालको राष्ट्रिय जनगणनाका अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९३५ प्रतिशत रहेको, जुन ८० वर्षयताकै सबैभन्दा कम रहेको उल्लेख गरे । वैदेशिक रोजगार र परिवार नियोजनलाई मुख्य कारण बताए ।

धर्म परिवर्तनको दबाब र विवादका बीच सामाजिक तनाव बढेको उल्लेख गर्दै उनले भने,‘ धार्मिक सहिष्णुता, समानता र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न सनातन हिन्दू राष्ट्र बनाउन जरुरी हुन्छ।ू उनले धर्म परिवर्तनका कारण एकै धर्म र समुदायहरूबीच अविश्वास खडा भएको बताए ।

कृषि क्षेत्रको समस्याबारे उनले कृषिमा क्रान्ति नारामा मात्र सीमित रहेको भन्दै कृषकहरू बीउ, मलखाद र सिंचाइको अभावमा प्रताडित रहेको बताए । कृषि सामाग्री आयातका लागि भन्सारबाट दिइने सास्तिले कृषकहरू पीडित भएको उल्लेख गरे ।
उनले क्रियाशील सदस्यको वर्गीकरण गर्ने व्यवस्थाको सुरुवात गर्न सुझाव दिएका छन् । भातृसंगठनहरूलाई चुस्त दुरुस्त बनाउन र तिनका निकायहरूलाई जिम्मेवारी प्रदान गरेर समयसीमा तोकेर अधिवेशन गराउने वातावरण बनाउन जरुरी रहेको बताए ।

संघीयताको कार्यान्वयनमा देखिएका कठिनाइहरूको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट र स्रोत व्यवस्थापनमा विवाद देखिएको बताए । प्रदेश सरकारहरूको कमजोर क्षमता र बजेट अभावले विकास निर्माण हुन नसकेको उल्लेख गरे ।

छिमेकी देशहरू भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा राख्न चुनौती देखिएको बताउँदै उनले नेपालमा भइरहेका राजनीतिक उक्साहट र राजावादी आन्दोलनको सूक्ष्म अध्ययन गर्न जरुरी रहेको बताए ।पहिचान र क्षेत्रीय आन्दोलनको सम्बन्धमा उनले मौलिक आन्दोलनको पाटो समाविष्ट भएको भन्दै पहिचानसँग सम्बन्धित आन्दोलनहरूलाई कांग्रेसले तत्काल संवोधन गर्नुपर्ने बताए ।

सवारी साधनको विषयमा उनले १२५ सिसी सम्मका बाइकहरूलाई अनिवार्य आवश्यकतामा राखेर एकमुष्ट कर लिएर छुट दिन सुझाव दिए । लाइसेन्स प्रक्रियालाई नेपालको सडक र अवस्था अनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए ।

आइतबार, २२ असार, २०८२, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर